खेलकुद

स्व दाहालको स्मृतिमा खुल्ला बक्सिङ प्रतियोगिता शुरु

काठमाडौँ । स्व प्रकाश दाहालको स्मृतिमा खुल्ला बक्सिङ प्रतियोगिता शुरु भएको छ । नेपाल बक्सिङ संघको तत्वावधानमा अखिल नेपाल खेलकूद संघको आयोजनामा आजदेखि लैनचौरमा सो खेल शुरु भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्व दाहाल नेपालको कम्युनिष्ट आन्दोलनमा होनहार युवा भएको बताए। “स्व दाहालको सपना समृद्ध नेपाल निर्माणको थियो, उक्त सपनालाई पूरा गर्न अहिले सरकार लागिरहेको छ”, उनले भने ।

गृहमन्त्री थापाले खेलले युवालाई एकापसमा एकताको भावना निर्माण गर्ने र स्वास्थ्यका लागिसमेत फाइदा हुने बताए । उनले खेलमा जित हार हुने तर खेलको माध्यमबाट देश निर्माणमा महत्वपूर्ण भूमिका पुग्ने विश्वास व्यक्त गरे ।

विश्वभर लोकप्रिय खेलका रुपमा रहेको बक्सिङलाई नेपालमा पनि लोकप्रिय खेलका रुपमा लिइन्छ । आगामी १७ गतेसम्म चल्ने प्रतियोगितामा २५ जिल्लाका १५० भन्दा बढी खेलाडीको सहभागिता रहेको छ । जसमा पुरुषको १० समूह र महिलाको आठ समूह रहेको आयोजकले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालका सुपुत्र प्रकाश दाहालको २०७४ मंसिर ३ गते निधन भएको थियो ।