बाग्मती

नारायणी नदीमा डल्फिनको बच्चा देखियो

चितवन । नारायणी नदीमा डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार नारायणी नदीको त्रिवेणी नजिकै भेलौजी भन्ने स्थानमा डल्फिनको बच्चा देखिएको हो ।

यसअघि सो क्षेत्रमा माउ डल्फिन दुईवटा देखिँदै आएकामा हाल बच्चासमेत देखिएपछि डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको उनले बताए ।

नारायणी नदी चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने गर्दछ । यो नदीमा डल्फिन देख्नुलाई दुलर्भ मानिन्छ । नदीमा घडियाल गोहीको अनुगमनका क्रममा डल्फिनको बच्चा देखिएको भए पनि तस्बीर लिन भने नसकिएको खड्काले बताए ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र आर्यालले सो क्षेत्रमा यसअघि पनि एक जोडी डल्फिन देखिँदै आएकामा त्यही जोडीबाट बच्चा जन्मिएको हुन सक्ने बताए । नदीमा डल्फिनको संख्या थपिदै गएमा पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास उनको छ । संकटापन्न अवस्थामा रहेको घडियाल गोहीका लागि नारायणी नदी राम्रो बासस्थान मानिन्छ ।

घडियाल गोहीका २११ बच्चा कोरलिए

चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन् केन्द्रमा यस वर्ष २११ वटा बच्चा कोरलिएका छन् । नारायणी र राप्ती नदीमा संकलन गरिएको गोहीको अण्डा र प्रजनन् केन्द्रमा गोहीले पारेको अण्डाबाट ती बच्चा कोरलिएका हुन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार राप्तीमा सात वटा गुँडबाट संकलन गरिएको २३५ वटा अण्डाबाट ११८ वटा बच्चा र नारायणी नदीमा दुई गुँडबाट संकलन गरिएका ८२ वटा अण्डाबाट ४६ वटा बच्चा कोरलेका हुन् । प्रजनन् केन्द्रमा गोहीले पारेका अण्डाबाट ४७ वटा बच्चा कोरलिएका हुन् ।

निकुञ्जले गएको वैशाखमा गोहीको अण्डा नदीबाट संकलन गरेको थियो । सो क्रममा राप्तीमा तीनवटा र नारायणीमा पाँचवटा गुँड छाडिएको थियो । सहायक संरक्षण अधिकृत खड्काका अनुसार ती गुडँमध्ये राप्तिमा एउटा गुँड पानीले बगाएको र अन्य दुईवटा गुँडबाट बच्चा कोरलिएका छन् । नारायणी नदीमा एक गुँडबाट बच्चा कोरलिएको, एक गुँड पानीले बगाएको र तीन गुँडमा बच्चा कोरल्न बाँकी रहेको उनले बताए ।

प्रजनन् केन्द्रमा पाँचवटा गुँड रहेकामा दुईवटा गुँडबाट बच्चा कोरलिएको भए पनि अन्य तीन गुँडका अण्डा भने बिग्रिएको सहायक संरक्षण अधिकृत खड्काले बताए ।

गोहीको बच्चा हुर्काउन निकै कठिन हुने गर्दछ । विगतको अनुभवलाई हेर्दा हाल कोरलिएका बच्चामध्ये १०० हाराहारी बचाउन सकिने उनको भनाइ छ । गत वर्ष पनि यसै हाराहारीमा बच्चा बचेका थिए । हाल प्रजनन् केन्द्रमा ५२० गोही रहेका छन् ।

यस वर्ष ११९ वटा गोहीका बच्चा हुर्काएर राप्ती नदीमा छाडिएको छ । हालसम्म राप्ती, नारायणी, कालिगण्डकी, कोशी, बबई र कणाली नदीमा एक हजार ३६५ वटा गोही छाडिसकिएको छ । सहायक संरक्षण अधिकृत खड्काका अनुसार पछिल्लो गणनाअनुसार ती नदीमा हाल १९८ गोही मात्र बाँकी रहेका छन् । जसमध्ये राप्ती र नारायणीमा मात्र १६६ रहेका छन् ।

सन् १९७८ मा कसरामा घडीयाल प्रजनन् केन्द्र शुरु गरिएको हो । संकटापन्न अवस्थामा रहेको गोही हराउँदै गएपछि नदीमा अण्डा संकलन गरि बच्चा कोरलेर यो प्रजनन् केन्द्र सुरु गरिएको हो । नदिमा छाडिएका गोही बाढीसँगै भारत पुग्ने तथा नदीमा ठूला जालमा परेर र प्रदूषणका कारण पनि रोगी भएर मर्ने गरेकाजस्ता समस्याका कारण गोही लोप हुँदै गएका छन् ।