समाचार

फेसबुकमा गालीगलौज गर्नेलाइ २ लाखसहित ५ बर्ष कैद हुने

काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई सचेत गराएको छ । एक विज्ञप्ती जारी गर्दै महाशाखाले बिशेष गरी फेसबुक प्रयोगकर्ताहरुलाई सचेत गराएको हो ।

बढ्दो सामाजिक सञ्जालको दुरुपयोगलाइ मध्यनजर गर्दै महाशाखाद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘विगत केही समयदेखि सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर, भाइबर, इमो, इन्टाग्राम लगायतका सामाजिक सञ्जालमा रहेका फोटाहरु तानेर त्यस्ता फोटाहरु विगारेर अश्लिल बनाएर पोष्ट गर्ने गतिविधि बढ्दै गएको छ ।’

साथै विज्ञप्तीमा कुनै जाति समुदाय तथा व्यक्तीबारे फेसबुकमा भईरहेको गालीगलौजबारे पनि सचेत हुन महाशाखाले आग्रह गरेको छ । त्यस्तै अपरीचित व्यक्तीले पठाएको फ्रेन्ड रिक्वेष्ट एसेप्ट नगर्न उसले भनेको छ ।
पछिल्लो समय नक्कली फेसबुक आइडी बनाउने क्रम बढेकाले त्यस्तो गर्नेलाइ साइबर क्राइम अन्तर्गत रहेर कारवाही गरिने भएको छ ।

सामाजिक सञ्जालले आम जनमानसमा कुनै किसिमको नकारात्मक असर पर्ने खालका गतिविधी गर्नेलाइ विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम दुई लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्ष कैद वा दुवै सजाय हुन सक्ने महाशाखाले जनाएको छ ।