अन्तर्राष्ट्रिय

सिरियामा पछिल्ला द्वन्द्वका कारण ४५ हजार मानिस विस्थापित : राष्ट्रसंघ

बेरूत, लेबनान । सिरियाको दक्षिणी क्षेत्रमा भएको हवाई तथा स्थल आक्रमणबाट जीवन जोगाउनका लागि पछिल्ला केही दिन यता करिब ४५ हजार सर्वसाधारण विस्थापित भएका राष्ट्रसंघले मङ्गलबार जनाएको छ ।

उक्त क्षेत्रमा द्वन्द्वका कारण यति ठूलो सङ्ख्यामा नागरिकहरू विस्थापित बनेको यो पहिलो घटना भएको राष्ट्रसंघले जनाएको छ ।

रूसी सहयोगमा सिरियाली सरकारी फौजले विद्रोही नियन्त्रित दक्षिणी क्षेत्र खासगरी दारा प्रान्तमा हवाई तथा स्थल आक्रमण गरेको थियो ।

हामीले करिब ४५ हजार मानिस विस्थापित बनेका अनुमान गरेका छौँ सङ्ख्या यो भन्दा बढी पनि हुनसक्छ , राष्ट्रसंघ मानवीय समन्वय कार्यालय (ओसिएचए) का प्रवक्त्ता लिन्डा टोमले बताए ।

“दक्षिणी क्षेत्रमा सरकारी फौज र प्रतिपक्षी समूहबीच भएका भीडन्तका कारण विस्थापित हुने क्रम पछिल्ला केही दिनमा ह्वात्तै बढेको छ,” टोमले भने ।

प्रवक्ता टोमले एएफपीलाई भने, “पछिल्ला दुई दिनमा हामीले ठूलो सङ्ख्यामा नागरिकहरू विस्थापित बनेको देखेका छौँ । सरकारी फौजले गरेको हवाइ आक्रमण र स्थल आक्रमणका कारण स्थानीय नागरिकहरू ठूलो सङ्ख्यामा भागेर सुरक्षाका लागि अन्यत्र गएको देखिएको छ ।”

विस्थापित बनेका अधिकांश पूर्वीभाग दाराको बाटो हुँदै जोर्डनी बन्द सीमानातर्फ भागेका छन् । जोर्डनले शरणार्थी राख्न नसक्ने भन्दै केही महिना पहिले सिरियासँगको आफ्नो सिमाना बन्द गरेको थियो ।

“हामीले यस पहिले दारामा यो हदमा विस्थापित बनेको देखेका थिएनौ,” ओसिएचए प्रवक्ताले बताए ।

संयुक्त राष्ट्रसङ्घले यस पहिले पनि सिरियाली सरकारी फौज र प्रतिपक्षी समूहबीच लडाई चर्केको स्थानमा करिब सात लाख ५० हजार जनसङ्ख्या रहेको र द्वन्द्वबाट उनीहरूको जीवन खतरामा परेको चेतावनी दिइसकेको थियो ।

सिरियामा सन् २०११ मा शुरु भएको द्वन्द्वका कारण अहिलेसम्म करिब चारलाख मानिसको ज्यान गएको र ५० लाख मानिस विस्थापित भएको विभिन्न मानवअधिकारबादी समूहले बताउँदै आएका छन् ।