अन्तर्राष्ट्रिय

बाढीमा फसेका बालबालिकाको अझै उद्दार भएन

माइसाई, थाइल्यान्ड । उत्तरी थाइल्याण्डको एक गाउँमा फुटबल खेल्न गएका १२ जना बालबालिकाको खोजी कार्य जारी नै रहेपनि उनीहरुको उद्दार हुन सकेको छैन ।

उद्दार कार्य मङ्गलबार पनि जारी रहेको तर परिणाम भने निराशाजनक भएको उद्दारमा खटिएका अधिकारीहरुले बताएका छन् ।

भारी वर्षापछि आएको बाढीको कारण गएको शनिबार एक गुफामा बसेर ज्यान बचाएका उनीहरुलाई अविरल वर्षाकै कारण उद्दारमा कठिनाई आएको हो ।

अर्को गाउँमा फुटबल हेर्न पुगेका ती बालबालिका साँझ घर फर्किने बेलामा घनघोर वर्षा भयो र बाढी आयो । त्यसपछि उनीहरु एक गुफामा छिरेका स्थानीय अधिकारीहरुको भनाई छ ।

उनीहरु भन्छन्– उद्दारको लागि सयौँ उद्धारकर्मी परिचालन गरिएको छ तर मौसमले साथ दिएको छैन ।
फुटबल म्याच खेल्न गएका बालबालिका र उनका एकजना प्रशिक्षक गत शनिबारबाट सोही गुफामा रहेका सरकारी अधिकारीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

म्यानमारको सीमा नजिकैको एउटा एकान्त स्थलमा रहेको यस गुफामा भारी वर्षापछि उनीहरूलाई उद्वारै गर्न नसक्नेगरी बाढी आएको अनुमान गरिएको छ ।

फसेका ती बालबालिकाको उमेर ११ देखि १६ वर्षको भएको बताइएको छ । उनीहरुलाई डुङ्गाको सहायताले खानेकुराहरु दिइएको छ ।

मङ्गलबार बिहान सयौँ स्थानीय र ती बालबालिकाका आफन्तले बाढीले थुनिएको गुफाभन्दा केही पर प्रार्थना गरेका थिए ।

उनीहरुले ती बालबालिकाको सकुसल उद्दारका लागि भगवानसँग प्रार्थना गरेका थिए । सरकारले आफन्तजनलाई धैर्याधारण गर्न भनेको छ ।

सरकारका प्रवक्ताले मङ्गलबार पनि सक्दो प्रयास सरकारले जारी नै राखेकोेले धैर्य गर्न आग्रह गरेका हुन् ।