कृषि

पन्ध्रौँ असारे रोपाइँ महोत्सव भब्य रुपमा मनाउने यस्तो छ तयारी

पोखरा । पोखरा पर्यटन परिषद्ले प्रत्येक वर्षको असार १५ गते गर्दै आएको असारे रोपाइँ महोत्सवको १५ औँ संस्करण यसवर्ष पोखरा लेखनाथ महानगरपालिका वडा नं २४ पामेमा हुने भएको छ ।

परिषद्द्वारा मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष केदारनाथ शर्माले असार १५ मा पामेस्थित अशोक पालिखे र कृष्ण मोहन पराजुलीको खेतमा यस वर्षको महोत्सव गर्न लागिएको जानकारी दिए ।

खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यावसायिकीकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्न तथा हाम्रो परम्परागत कृषि प्रणालीमार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्न प्रत्येक वर्ष महोत्सव गर्दै आइएको उनले बताए ।

महोत्सवका अवसरमा साउने प्रतियोगिता (हलगोरुको दौड), विभिन्न आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने खुल्ला प्रतियोगिता, महिला तथा पुरुषको हिले दौड (नेपाली र विदेशी दुवैको छुट्टाछुट्टै), रस्साकसी (नेपाली र विदेशीबीच), पत्रकारको हिले दौड प्रतियोगिताका साथै उत्कृष्ट कृषक सम्मान कार्यक्रम राखिएको छ ।

साउने प्रतियोगिता (हलगोरुको दौड) मा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु तीन हजार, दुई हजार, एक हजार र ५०० नगद पुरस्कारसहित प्रमाणपत्र तथा ट्रफि प्रदान गरिने छ ।

यसैगरी असारे रोपाइँ र गीत प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु पाँच हजार, तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कारसहित प्रमाणपत्र तथा ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ । दौड प्रतियोगिताका विजयीलाई भने ट्रफि प्रदान गरिने छ ।

महोत्सवको व्यवस्थापनमा रु १९ लाख आठ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

महोत्सवमा २५ देखि ३० हजार (जसमा ५०० विदेशी) सहभागी हुने विश्वास लिइएको पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले जानकारी दिए ।