पर्यटन/संस्कृति

नेवारी संस्कृति तथा कला झल्किने मूर्तिकला प्रदर्शनी

काठमाडौँ । नेपाल कला परिषद्मा वरिष्ठ मूर्तिकार चन्द्रश्याम डंगोलको नेवारी संस्कृति तथा कला झल्किने एकल मूर्तिकला प्रदर्शनी भइरहेको छ ।

दसदिने सो प्रदर्शनीमा बज्रयान बौद्धधर्मसँग सम्बद्ध महामन्जुश्री, लक्ष्मी, बुद्ध चरित्र, लोकेश्वर, पानस, सुकुन्दा, शुभकार्यका प्रतीक गणेश तथा बौद्ध स्तुपा तथा चिभासहित १७ वटा आकर्षक मूर्ति राखिएको छ ।

इनहेरिटेन्स नाम दिइएको सो प्रदर्शनीमा लामा बौद्धधर्मसँग सम्बद्ध छोर्टेन पनि राखिएको छ । दर्शकको आकर्षण विशेष गरेर छोर्टेन, महामन्जुश्री तथा कुवेरको मूर्तिमा केन्द्रित रहेको र अधिकांशले आफ्नो मोबाइलमा तस्वीर कैद गरेको पाइयो ।
कलाकार डंगोलले आफू २५ वर्षदेखि ढुंगाबाट मूर्ति बनाउने काममा व्यस्त रहेको जानकारी दिँदै सुकुन्दा तथा पानसजस्ता कृतिले नेवारी कलालाई देशविदेशमा पहिचान गर्न मद्दत मिल्ने बताए ।

६६ इन्च अग्लो छोर्टेनको प्रस्तर मूर्ति आकर्षक देखिएको छ भने कुवेरको मूर्ति १६ इन्च अग्लो रहेको छ । ललितपुरको खोकनामा जन्मिएका डंगोलले सन् २०१० मा चीनमा भएको विश्व संघाई एक्सपो–२०१० मा भाग लिनुभएको थियो । त्यो प्रदर्शनीमा उहाँले १२ फिट अग्लो उभिइरहेको बोधिसत्वको मूर्ति प्रदर्शन गरेका थिए ।

आफैँले निर्माण गरेको १८ फिट अग्लो मैत्रेय बुद्धको मूर्ति बारामा स्थापना गरिएको उहाँले जानकारी दिए । त्यस्तै ३३ फिट अग्लो विश्वकै सबैभन्दा अग्लो महामन्जुश्रीको मूर्ति काठमाडौँको चोभारमा स्थापना गर्ने कार्य भइरहेको छ ।

गत असार ५ देखि शुरु भएको सो मूर्तिकला प्रदर्शनी असार १४ सम्म सञ्चालन हुने कार्यक्रम छ ।