लुम्बिनी

लागूऔषधले समाज दूषित बन्दैः मन्त्री बराल

दाङ । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले लागूऔषधको प्रयोगले समाज दूषित बन्दै गएको बताएका छन् ।

अभिभावकले चासो नदिँदा अधिकांश बालबालिका लागूऔषधको शिकार भएको बताउँदै मन्त्री बरालले यसको नियन्त्रणका लागि कानूनले मात्रै नहुने भएकाले सचेतनामा पनि ध्यान दिनुपर्ने बताए ।

तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा मंगलबार तुलसीपुरमा भएको अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध ओसारपसारविरुद्धको दिवस तथा बृहत् सभामा उनले सो कुरा बताएका छन् ।

सिंगो प्रदेशलाई लागूऔषध ओसारपसारबाट मुक्त गर्नुपर्ने आवश्यकता रहेको बताउँदै मन्त्री बरालले ओसारपसार कार्यमा संलग्नलाई कानूनी दायरामा ल्याउनुपर्ने कुरामा जोड दिए । “कानूनी तवरले पनि यसलाई नियमन गर्ने कुरामा सबैले सोच्नुपर्दछ, प्रदेशले कानून बनाउँदा यो कुरामा ख्याल गर्नेछ” मन्त्री बरालले भने । प्रदेशसभा सदस्य उत्तरकुमार वलीले लागूऔषधका विरुद्ध प्रदेश सरकारले चासो राखेको बताउँदै लागूऔषध बिक्री वितरणलाई आवश्यक नियन्त्रण गर्नुपर्नेमा समेत जोड दिए ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिकाले लागूऔषध बिक्री वितरण, सेवन र ओसारपसारलाई नियन्त्रण गर्नका लागि ‘टोबाको फ्रि टोल’को अवधारणा अगाडि ल्याएको बतााए ।

लागूऔषध बारेका प्रशिक्षक एवं नार्कोनन् नेपालका अध्यक्ष वसन्त कुँवरले प्रत्येक घरमा लागूऔषध बारेमा सचेतना दिन आवश्यक रहेको बताए । उनले विश्वमा तीन हजार ५०० प्रजातिका नशालु कुरा हुने भएपनि नेपालमा भने पाँच प्रकारका नशालु पदार्थ प्रचलित रहेको बताए ।