समाचार

प्रधानसेनापति क्षत्री र राष्ट्रसंघ प्रतिनिधी पियरेबीच भेटवार्ता

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघ प्रतिनिधी जिन पियरे लेक्रोइक्सबीच भेटवार्ता भएको छ । जिन पियरे लेक्रोइक्सले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा उहाँहरुबीच संयुक्त राष्ट्र संघको अनुरोधमा नेपाली सेनाले विश्व शान्तिको लागि पु¥याउँदै आएको बहु–आयामिक योगदानका विषयबस्तुहरु, आगामी दिनहरुमा गरिने सहयोग एवम् सहकार्यका क्षेत्रहरुलाई विस्तार गर्ने सम्बन्धमा छलफल भएको थियो ।

त्यसैगरी, उहाँले द्वन्द्वग्रस्त मुलुकहरुमा परेको संकटको समयमा संयुक्त राष्ट्र संघलाई आवश्यक परेको फौज खटाई विश्व शान्ति स्थापना कार्यमा नेपाली सेनाले खेलेको अग्रणी भूमिकाको लागि प्रशंसा गर्नु भई विशेष धन्यवाद समेत ज्ञापन गरेका थिए ।

साथै, नेपाली सेनाको तर्फबाट हाल शान्ति स्थापनार्थ कार्यको लागि महिला सैनिकहरुको सहभागिताको समेत प्रंशसा गर्नु हुँदै आगामी दिनहरुमा उक्त सहभागिता अझ बढ्ने विश्वास समेत व्यक्त गरे । उक्त अवसरमा यु.एन.हेडक्वाटर शान्ति सेना विभाग (म्एप्इ) का सैनिक सल्लाहकार कारलोस हुमटी लोइटी, प्रहरी सल्लाहकार लुइस क्यारीयो तथा राजनीतिक मामिला हेर्ने एलाइस मियलम्यान को समेत उपस्थिती रहेको थियो ।

नेपाल बसाईको क्रममा ल्याक्रोइक्सलेले राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधान तथा रक्षामन्त्री, माननीय परराष्ट्रमन्त्री, गृहमन्त्री, नेपाल प्रहरी एवं सशस्त्र प्रहरी बलका महानिरीक्षकहरुसँग छुट्टा–छुट्टै भेटघाट गर्ने कार्यक्रम रहेको छ । साथै उनले पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गर्नेछन् ।

संयुक्त राष्ट्रसंघको उच्च व्यक्तित्वहरुको भ्रमणबाट नेपाली सेनाको अन्तर्राष्ट्रिय शान्ति र स्थायित्व प्रतिको प्रतिवद्धतालाई विश्वस्त बनाउनुको साथै अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यलाई अझ प्रभावकारी बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

नेपाल भ्रमणको लागि आजै काठमाण्डौ आएका ल्याक्रोइक्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निरीक्षणाधिकृत अनुज बहादुर बस्न्यातले स्वागत गरेका थिए । भ्रमण सम्पन्न गरी बिहिबार गते फिर्ता हुने कार्यक्रम रहेको छ ।