लुम्बिनी

विपद् व्यवस्थापन एकद्वार प्रणालीबाट हुनुपर्छ : मुख्यमन्त्री पोखरेल

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले विपद् व्यवस्थापन कोषको परिचालन एकद्वार प्रणालीबाट हुनुपर्ने बताएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशअन्तर्गतका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँगको विपत् सुरक्षा गोष्ठीको आज मणिग्राममा उद्घाटन गर्दै विपद् व्यवस्थापनको कामको नेतृत्व एउटै निकायबाट हुन सकेमात्र प्रभावकारी हुने बताए।

उनले भने, “विपद्मा उद्धार, राहत र पुनःस्थापनाको काम देखाउनका लागिभन्दा पनि मानवीय कर्तव्य ठानेर काम गर्नुपर्छ ।” मुख्यमन्त्री पोखरेलले विपद् व्यवस्थापनका लागि सरकारका सबै निकाय र सरोकारवाला संघसंस्थाले उद्धारका साथमा राहतको काम पनि सँगै अघि बढाउनुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले साउन महिना विपत्तिका लागि बढी जोखिमपूर्ण हुने भएकाले अहिलेदेखि नै पूर्व सतर्कता अपनाउन निर्देशन दिए । उनले राहतका लागि सम्भावित क्षेत्रमा पूर्व तयारी गर्न रणनीति बनाउनसमेत प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई आग्रह गरे । उनले विपत् व्यवस्थापनका लागि प्रदेश सरकारले रु छ करोडको कोषको व्यवस्था गरेको जानकारी गराए ।

कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव शंकर पाठकले कार्यक्रमको उद्देश्यमाथि जानकारी गराउँदै विपद् व्यवस्थापनका लागि आयोजित गोष्ठीले प्रभावकारी निष्कर्ष निकाल्ने अपेक्षा गरे ।

एक दिवशीय गोष्ठीमा जिल्लास्तरमा विपद् पूर्वको व्यवस्थापकीय अवस्थाका बारेमा प्रमुख जिल्ला अधिकारीहरुको प्रस्तुति रहेको छ ।