सुदूरपश्चिम

प्रहरीद्वारा ३७ रोपनीका लगाइएको गाँजा फँडानी

डडेल्धुरा । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसर पारी जिल्ला प्रहरी कार्यालय डडेल्धुराले गाँजा फँडानी गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जिल्लाका विभिन्न क्षेत्रमा रहेको ३७ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फँडानी गरी नष्ट गरेको जनाएको छ ।

गाँजा सेवनका कारणले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै आपराधिक क्रियाकलाप पनि हुने गर्दछ । जिल्लाका विभिन्न स्थानमा गरी करीब ३७ रोपनी क्षेत्रफलमा फैलिएको गाँजालाई फँडानी गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी गराए ।

लागुऔषध नियन्त्रण तथा टोलटोलमा प्रहरी भन्ने अभियान र लागुऔषध दुरुपयोग तथा नियन्त्रण कार्यक्रमअन्तर्गत अमरगढी नगरपालिकाका विभिन्न वडामा पुगी सर्वसाधारणलाई जनचेतना मुलुक कार्यक्रमसमेत प्रहरीले गरिरहेको छ साथै समाजभित्र रहेको विकृति विसङ्गतिलाई हटाई समृद्ध समाजको निर्माणका लागि प्रहरी लागिपरेको प्रहरी नायब उपरीक्षक जोशीले बताए । टोलटोलमा प्रहरी अभियानसँगै जिल्लाका विभिन्न स्थानमा रहेको गाँजा फँडानी गरिएको प्रहरीले जनाएको छ ।

टोलटोलमा प्रहरीले थालनी गरेको अभियानमा स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी र सर्वसाधारणले पनि सहयोग गरिरहेका छन् । अमरगढी नगरपालिकाको भालुमारे, तडिवाटा, चिरकिट्टे, भात्काडालगायतका क्षेत्रमा रहेका गाँजालाई फँडानी गरी प्रहरीले नष्ट गरेको हो ।