पु.समाचार

युवायुवतीलाइ ड्रग्समा फस्न नदिन गृहमन्त्रीको यस्तो मास्टरप्लान

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागुऔषध अपराधलाई नियन्त्रण गर्न ‘लागुऔषध नियन्त्रण कार्ययोजना, २०७५’ हालै जारी गरेको बताएका छन् ।

गृहमन्त्रालयले ‘लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणालाई पूरा गर्न कार्ययोजना सहयोगी हुने बताए ।

गृहमन्त्री थापाले मुलुक समृद्धको उचाइमा पु¥याउन स्वास्थ्य, सिर्जनशील युवाको खाँचो रहेको भन्दै यस्ता युवा–युवतीलाई लागुऔषधमा फस्न नदिन गृहमन्त्रालयले कार्ययोजनामार्फत काम गरिरहेको उल्लेख गरे । “देशका भविश्यका कर्णधार मानिने किशोर–किशोरी तथा युवा–युवतीमा देखिएको लागुऔषधको दुव्र्यसनलाई सरकारले गम्भीर समस्याका रुपमा लिएको छ”, उनले भने ।

विश्वव्यापीरुपमा भइरहेको लागुऔषधसम्बन्धी समस्याबाट नेपाल पनि प्रभावित रहेको भन्दै उनले लागुऔषधको खेती, उत्पादन, ओसारपसार, बिक्री वितरण र सेवनजस्ता कानूनी अपराधलाई रोक्न सबै लाग्नुपर्छ भने।

लागुऔषध दुव्र्यसनीलाई रोकथाम गर्न नागरिकस्तरबाटै विशेष सचेतना अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज देशभरि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।