आर्थिक

स्थानीय तहद्वारा बजेट विनियोजन

नवलपरासी । पश्चिम नवलपरासीको स्थानीय तहमा आगामी आर्थिक वर्ष २०७५/७६ का लागि बजेट विनियोजन गरेका छन् । सातवटा स्थानीय तह रहेको पश्चिम नवलपरासीमा केही स्थानीय तहले नगरसभामार्फत बजेट सार्वजनिक गरेका छन् भने केही बजेट तर्जुमा गर्ने तयारीमा छन् ।

स्थानीय तहले भौतिक पूर्वाधार, सडक निर्माण, खानेपानी, बाटो, पुल पुलेसालगायतका विकास निर्माणका कामलाई प्राथमिकता दिएका छन् । सुनवल नगरपालिकाले कूल रु ७८ करोड ७५ लाख बजेट विनियोजन गरेको छ । आन्तरिक आयतर्फ रु आठ करोड ६७ लाख तथा बाह्य आयतर्फ रु ७० करोड आठ लाख ४७ हजार बजेट विनियोजन गरेको नगरप्रमुख भीमबहादुर थापाले जानकारी दिए।

यस्तै, सुस्ता गाउँपालिका रु ३९ करोड विनियोजनको तयारीमा छ भने रामग्राम नगरपालिकाले रु ६० करोडको १६ लाख ७१ हजारको बजेट तर्जुमा गरेको छ ।

बर्दघाट नगरपालिका करीब रु ६० करोड बराबरको बजेट तर्जुमा गर्ने तयारीमा छ । चालुतर्फ रु २१ करोड र अरु पूँजीगत खर्चतर्फ खर्च गरी बजेट तर्जुमा गर्ने योजना रहेको नगरप्रमुख धीरज शर्मा बस्यालले बताए ।

सरावल गाउँपालिकाले रु ४६ करोड ४५ लाख बराबरको बजेट तर्जुमा गर्ने योजना बनाएको छ । चालुतर्फ ६० प्रतिशत र पूँजीगततर्फ करीब ४० प्रतिशत बजेट विनियोजन सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले बताए ।

पाल्हिनन्दन गाउँपालिकाले करीब रु ४४ करोड ४० लाखको बजेट तर्जुमा गर्दैछ भने प्रतापपुर गाउँपालिकाले रु ४८ करोड बराबरको बजेट तयार पारेको प्रमुख प्रशासकीय अधिकृत बोधराज बस्यालले बताए ।