गण्डकी प्रदेश

पहिरोमा परी एकै घरका तीनको मृत्यु

बागलुङ । भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमै सुतिरहेको बेलामा एक्कासि खसेको ठूलो पहिरोमा परी उनीहरुको ज्यान गएको हो । पहिरोमा पुरिएका मृतक तीनै जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले बताए ।

इलाका प्रहरी कार्यालय, बरेङको प्रहरी टोली र स्थानीयवासी बिहानैदेखि उद्धारमा खटिएका थिए । घरसँगै गोठ पनि पहिरोले बगाएको जनाइएको छ । मृतक क्षेत्रीका दुई छोरी भने पढाइको सिलसिलामा बाहिर रहेको बुझिएको छ ।

रातभर परेको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि ठूलो भौतिक क्षति पु¥याएको छ । बरेङ गाउँपालिकाका–२ हुग्दीशिरको ब्राहकोट प्रावि पहिरोले क्षतिग्रस्त बनेको जनाइएको छ ।

यस्तै, हुग्दीखोलामा आएको बाढीले कैयौँ रोपनी खेत बगरमा परिणत भएको स्थानीयवासी प्रकाश छन्त्यालले बताए । जिल्लाभर भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

मध्यपहाडी लोकमार्ग अवरुद्ध

यसैगरी, भिषण वर्षापछि गएराति गएका पहिराले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध बनेको छ । गलकोट नगरपालिका–७ को बाँस्खोला, आँगाखेत र वडा नं ३ हटियामा पहिरो खस्दा लोकमार्ग अवरुद्ध बनेको हो । जिल्लाको पश्चिम भेगबाट छोटो तथा लामो दूरीमा चल्ने यातायात रोकिएको जनाइएको छ । गलकोट क्षेत्रका अधिकांश ग्रामीण सडक पनि पहिराले अवरुद्ध बनाएको वडा नं ३ का अध्यक्ष वीरजंग भण्डारीले बताए ।

“ठाउँठाउँमा गएको पहिराले मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्घ छ,” अध्यक्ष भण्डारीले भने, “पहिराले अन्यत्र पनि भौतिक क्षति पु¥याएको खबर आइरहेका छन् ।”

पहिरो हटाई लोकमार्ग सुचारु गर्न प्रयास भइरहेको हटिया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक टेकबहादुर खाडामगरले बताए । रातभर परेको अविरल वर्षापछि जिल्लाभरको जनजीवन प्रभावित भएको छ ।