शिक्षा

टेलिटिचिङका लागि विद्यालयलाई स्मार्ट टिभी

बेनी, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विद्यालयलाई टेलिटिचिङ सञ्चालनका लागि स्मार्ट टिभी वितरण गरेको छ ।

गाउँपालिकाभित्र रहेका १० माध्यमिक विद्यालयलाई टेलिटिचिङका लागि गाउँपालिका अध्यक्ष डमबहादुर पुनले वडाध्यक्ष तथा विद्यालयका प्रधानाध्यापकलाई १० वटा स्मार्ट टिभी हस्तान्तरण गरेका हुन् । पोखरेबगरमा सोमबार भएको कार्यक्रममा माध्यमिक विद्यालयलाई टेलिटिचिङका लागि टिभी तथा आइसिटी सामग्री वितरण गरिएको हो ।

गाउँपालिकाको आर्थिक सहयोग, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको प्राविधिक सहयोगमा गाउँपालिका स्तरीय शिक्षक महासंघ कार्यसमितिको समन्वयमा १० वटा मावि तहका विद्यालयमा उच्च गतिको इन्टरनेट जडान गरी स्मार्ट टिभीमार्फत टेलिटिचिङ शुरु गर्नका लागि तयारी तीव्र पारिएको छ ।

आगामी साउन महिनादेखि नै विद्यालयमा टेलिटिचिङ शुरु गर्नका लागि स्मार्ट टिभी वितरण तथा प्राविधिक जडानको काम भएको बताउँदै हरेक विद्यालयले प्रविधियुक्त कक्षाकोठाको व्यवस्थापन तथा विद्यालयमा रहेको जनशक्ति परिचालन गरी टेलिटिचिङ प्रभावकारी बनाउन अध्यक्ष पुनले आग्रह गरे ।

विद्यालयमा विज्ञान, गणित र अंग्रेजी विषयका शिक्षक अभाव भइरहने र विद्यार्थीको नियमित पठनपाठनमा नै समस्या आउने गरेको सन्दर्भमा टेलिटिचिङ उपयोगी हुने अध्यक्ष पुनले बताए ।

टेलिटिचिङको शुरुवातका लागि चालू आर्थिक वर्षमै गाउँपालिकाले रु १० लाख बजेट विनियोजन गरेको थियो भने गाउँपालिका अध्यक्ष पुनको सक्रियतामा रु पाँच लाख ५० हजार सहयोग जुटेको थियो ।