आर्थिक

सियारीको बजेट रु ३९ करोड

बुटवल । रुपन्देही जिल्लाको सियारी गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि रु ३९ करोड नौ लाख ८६ हजार बजेट सार्वजनिक गरेको छ ।

सियारी गाउँपालिकाको तर्फबाट तेस्रो गाउँसभामा गाउँसभा उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक अमृता गुरुङले सोमबार समग्र क्षेत्रगत प्रस्तावित नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए ।

स्थानीय सरकारको नयाँ अभ्यास भएको हुनाले गल्ती कमजोरीलाई सिकाइका रुपमा लिन सम्पूर्ण सभामा उपस्थितलाई अनुरोध गर्दै सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले स्थानीय सरकारको बजेटले गाउँपालिका विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सियारी गाउँपालिकाको कूल आय रु ३९ करोड नौ लाख ८६ हजार रहेको छ जसमा गत आवबाट आएको रु दुई करोड ५० लाख, राजश्व रु ११ करोड ५४ लाख ३३ हजार तथा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु १२ करोड ३४ लाख ५४ हजार आम्दानीमा राखेको छ ।

यस्तै, नेपाल सरकारबाट रु ११ करोड ८९ लाख, प्रदेश सरकारबाट रु ४५ लाख ५३ हजार रहेको छ । अन्तरसरकारी सरकारी अनुदान रु १२ करोड ७१ लाखको आय विवरण रहेको छ ।

गाउँपालिकाका अध्यक्ष अयोध्या थारुको अध्यक्षता मुख्य प्रशासकीय अधिकृत झबिलाल भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा आव जेठ मसान्तसम्मको मुख्य उपलब्धि क्रमबद्धरुपमा सार्वजनिक गरेको गाउँपालिकाले विशेष गरी विकासका उपलब्धिलाई प्रगतिका रुपमा प्रस्तुत गरेको थियो ।