प्रदेश 2

मधेश आन्दोलनका घाइतेलाई आर्थिक सहयोग उपलब्ध गराउने

महेन्द्रनगर, धनुषा । प्रदेश नं २ का सरकारले मधेश आन्दोलनका घाइतेलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रदेश नं २ को आज बसेको मन्त्रिपरिषद्को बैठकले मधेश आन्दोलनका क्रममा घाइते भएकालाई प्रकृति हेरी सहयोग उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले जानकारी दिए ।

बैठकले प्रदेशको प्रशासनिक संरचना सुधार गर्न समितिसमेत गठन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका प्रमुख सचिवको संयोजकत्वमा गठित उक्त समितिमा सबै मन्त्रालयका सचिवलाई पदेन सदस्य राखिएको छ ।

त्यस्तै बैठकले मुख्यन्यायाधिवक्ताको कार्यालयबाट प्राप्त कानूनी सहायता अधिकृतको नियुक्ति तथा सेवा शर्तसम्बन्धी निर्देशिका, २०७५ लाई समेत स्वीकृति प्रदान गरेको छ । प्रकाशमान सिँह