लुम्बिनी

प्रदेश नं ५ मा शीर्षकगत छलफल शुरु

बुटवल । प्रदेश नं ५ मा प्रदेश विनियोजन विधेयक, २०७५ माथि प्रदेशसभा सदस्यले आजदेखि शीर्षकगत छलफल शुरु गरेका छन् ।

आर्थिक वर्ष २०७५/०७६ को सेवा र कार्यका लागि प्रदेश नं ५ प्रदेश संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रदेश नं ५ प्रदेश विनियोजन विधेयक, २०७५) को छलफलमा सहभागी हुँदै उनीहरुले विनियोजन विधेयक पूर्वाग्रही ढंगबाट आएको आरोप लगाएका छन् ।

प्रदेशसभा सदस्य इन्द्रजीत थारुले मदिरा खाने स्थललाई जबर्जस्ती पर्यटन क्षेत्र बनाउन खोजेको जिकिर गर्दै बजेटले सिद्धान्तलाई आत्मसात गर्न खोजे पनि व्यावहारिकरुपमा कठिनाइ देखिएको छ भने ।

प्रदेशसभा सदस्य कुलप्रसाद पोखरेलले उत्पादन, उपभोग, विनिमय र वितरणका हिसाबले बजेट प्रशंसनीय भए पनि आवधिक योजनाका हिसाबले त्रुटिपूर्ण भएको धारणा व्यक्त गरे ।

प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले समानुपातिक, समावेशी र न्यायोचित ढंगले बजेट वितरण भएको उल्लेख गर्दै प्रदेशसभा सदस्यलाई जति स्थापित गर्न सकिन्छ त्यति नै सरकार स्थापित हुन्छ भने ।

प्रदेशसभा सदस्य दीपेश थारुले बजेट मन्त्री केन्द्रित भएको आरोप लगाउँदै बजेटको दृष्टिकोणले बर्दिया पछिपरेको बताए ।

प्रदेशसभा सदस्य विष्णु पन्थीले पर्यटन क्षेत्रको विकासका लागि बजेट पर्यटन बोर्डको गठनमा जोड दिँदै परम्परागत बजेट प्रणाली परिवर्तन गर्नुपर्छ भने । प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बजेटले भौतिक पूर्वाधार र जनशक्तिको विकासलाई समेत आधार मानेको भए पनि ठोस कार्यक्रम नआएको धारणा व्यक्त गरे।

विधेयकमा प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डे, दामा शर्मा, तीलकराम शर्मा, तारा जिसी, दीपेन्द्र पुनमगर, तुलाराम घर्तीमगर, कृष्ण न्यौपानेलगायतले विनियोजन विधेयकका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।