खेलकुद

बोसियाको बिसी १ मा साधनालाई स्वर्ण

काठमाडौँ । प्रथम राष्ट्रिय पारा खेलकूदअन्तर्गत राष्ट्रिय बोसिया प्रतियोगिताको बिसी १ समूहको महिला तर्फ साधना घिमिरेले आज स्वर्ण हात पारेकी छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय बोसिया संघको व्यवस्थापनमा भएको उक्त प्रतियोगितामा नीलम अधिकारी दोस्रो तथा सुशान्त गुरुङ तेस्रो भए ।

बिसी २ समूहको पुरुषमा मानबहादुर भुजेल पहिलो, पंकजप्रसाद गुप्ता दोस्रो र प्रकृति भट्टराई तेस्रो भए । बिसी ३ को पुरुषमा अंकित श्रेष्ठले स्वर्ण, सुशान्त दवाडीले रजत र लक्ष्मी मगरले कांस्य जिते ।

बिसी ४ को महिलामा सम्झना भट्टराई प्रथम, सीता ढकाल द्वितीय र सुकुमाया तामाङ तृतीय बने । बिसी ५ को पुरुषमा सन्तोष सञ्जेल पहिलो, रुपेश लामिछाने दोस्रो र सफल तामाङले तेस्रो स्थान हात पारे ।

जोडीतर्फको प्रतिस्पर्धामा सञ्जु कँडेल र हुमकान्त कँडेल, कुमारी भुजुङ र डोल्का रोका तथा गंगामाया बल र प्रिता बलको जोडी क्रमशः शीर्ष तीन स्थानमा रहे ।

विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइरालालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दुईदिने प्रतियोगितामा सात प्रदेशबाट ५० खेलाडीले विभिन्न ६ स्पर्धामा सहभागिता जनाएको बोसिया संघकी अध्यक्ष गोमादेवी पौडेलले जानकारी दिए ।