गण्डकी प्रदेश

नेपाल र चीनको सीमा क्षेत्रमा व्यापार मेला आजबाट शुरु

ठिनी, मुस्ताङ । नेपाल र चीनको सीमा क्षेत्रमा हरेक वर्षको दुई पटक आयोजना हुने व्यापार मेला आजबाट शुरु हुँदै छ । नेपालको सिमानादेखि चार किलोमिटरको दुरीमा शुरु हुने उक्त मेलामा नेपाल र चीनका व्यापारीले १० दिनसम्म व्यापार गर्ने छन् । व्यापार मेलाका लागि लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण विष्टको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ ।

व्यापार मेलामा चीनमा उत्पादित लत्ताकपडा, पेयपदार्थ, चाउचाउ ,साबुन, च्याङ्ग्रा, भेडा, चौँरी, फर्निचर र निर्माणका सामग्री तथा विभिन्न किसिमका कस्मेटिक सामान, चाउचाउ, हस्तकला, चाँदीका भाँडा, गलैँचा, पश्मिना र यार्सागुम्बाको व्यापार हुने विष्टले बताए ।
मेलामा सहभागि नेपाली नागरिकलाई चीनले निश्चित समय अवधिको लागि कारोबार गर्न परिचयपत्रको व्यवस्था गरेको छ । यसअघि नेपालीलाई त्यहाँका सुरक्षाकर्मीले प्रवेशमा रोक लगाउँदै आएका थिए ।

पहिला नुन र उवा तथा घोडा र मोटरसाइकल साट्ने गर्थे । आजभोलि पैसा र अन्य सामान साट्ने गर्छन् । मेलाले दुई देशबीचको सम्बन्ध सुदृढ हुने प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए ।

प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार सीमा र व्यापारीको सुरक्षाको लागि लोमान्थाङ प्रहरी, छोसेर प्रहरी र छोनुप प्रहरी खटाइएको छ । मेलामा सामान खरिद तथा बिक्री गर्न जोमसोम, म्याग्दी, पोखरा, बाग्लुङ तथा वरपरका गाउँबाट आउने गर्छन् ।