गण्डकी प्रदेश

वन्यजन्तु संरक्षण उद्यान बन्दै

बागलुङ । प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिर परिसरमा वन्यजन्तु संरक्षण उद्यान बनाउन थालिएको छ । यसै वर्ष तारबार गर्ने, अग्निरेखा बनाउने र केही वन्यजन्तु संरक्षणको काम गरिएको छ ।

वन मन्त्रालय, कालिका मन्दिर गुठी समिति र बागलुङ नगरपालिका मिलेर वन्यजन्तु संरक्षणसँगै पर्यटकीय गन्तव्य बनाउन उद्यानको योजना ल्याइएको मन्दिरका अध्यक्ष राजु खड्काले बताए ।
उनका अनुसार मन्दिरको चारैतिर फैलिएको १९० रोपनी जंगल क्षेत्रलाई वन्यजन्तु संरक्षण उद्यानका रुपमा विकास गरिनेछ । “यहाँको हावापानीमा हुने वन्यजन्तुलाई संरक्षण गर्छौँ”, उनले भने, “वन्यजन्तु उद्यानले पर्यटकलाई समेत आकर्षित गर्नेछ ।”

तारबारले घेरेको अस्थायी संरचनामा हालैमात्र दुई मृगलाई संरक्षण गरी राखिएको छ । पूर्वाधार तयारीसँगै अन्य वन्यजन्तुलाई पनि उद्यानमा राखिने जनाइएको छ । “मृगको गतिविधि, स्वभाव र खानपान बुझ्दै छौँ”, अध्यक्ष खड्काले भने । प्रारम्भिक अध्ययनअनुसार मन्दिर परिसरको जंगलमा मृग, बाह्रसिङ्गे, बँदेल, चितुवालगायतका वन्यजन्तु रहनसक्ने देखिएको छ । यस्तै, दर्जनौँ जातका पक्षीजन्य जीव उद्यानमा राखिने छन् ।

जंगल परिसरमा रहेका चरालाई पनि संरक्षितरुपमा राखिने जनाइएको छ । “यहाँ नभएका वन्यजन्तु र पक्षी बाहिरबाट ल्याएर राख्छौँ”, अध्यक्ष खड्काले भने, “मन्दिर क्षेत्रको सबै जंगल वन्यजन्तु संरक्षणका रुपमा रहन्छ ।” वन्यजन्तु संरक्षणका लागि वन क्षेत्रलाई चारैतिरबाट सुरक्षित घेराबार गरिने भएको छ । चालू आवमा छुट्ट्इएको बजेटबाट केही मात्रामा तारजाली लगाउने र अग्निरेखा बनाउन शुरु भएको छ ।

अग्निरेखा र तारजालीको काम वन मन्त्रालयको सहयोगमा अघि बढेको हो । यस्तै, बागलुङ नगरपालिकाबाट वन्यजन्तु संरक्षणका लागि यो वर्ष विनियोजित रु १५ लाखबाट तारजाली लगाउने काम गरिएको छ । सबैतिर तारबार गर्न करीब रु पाँच करोड खर्च लाग्ने अनुमान गरिएको छ । आगामी वर्ष पनि वन्यजन्तु संरक्षण उद्यानका लागि बजेट छुट्याइने बागलुङ नगरपालिकाले जनाएको छ । उद्यानको विस्तृत सर्वेक्षण गर्न नगरपालिकाले विज्ञ टोली पनि खटाएको छ ।

यस्तै जिल्ला वन कार्यालय, ढोरपाटन शिकार आरक्ष र जिल्ला समन्वय समितिले पनि संयुक्त अध्ययन समिति बनाएका छन् । उक्त समितिले दिने प्रतिवेदनका आधारमा वन्यजन्तु संरक्षणको कामलाई थप अघि बढाइने भएको छ । समितिले वन्यजन्तु संरक्षका लागि चाहिने सबै पूर्वाधार र जनशक्ति व्यवस्थापनमा उचित सुझाव दिनेछ । दुवै समितिले गरेको प्रारम्भिक अध्ययनले मन्दिर परिसरमा वन्यजन्तु उद्यान बनाउन उपयुक्त देखाएको छ । कालिका मन्दिरको वन क्षेत्र समुद्री सतहदेखि करीब एक हजार मिटरको उचाइमा अवस्थित छ ।