लुम्बिनी

कालीगण्डकीको पानी लिफ्ट गरेर तानसेन ल्याइँदै

रामपुर, पाल्पा । तानसेन नगरपालिकाका जनतालाई यसै वर्ष २४ सै घण्टा घरघरमा खानेपानीको सुविधा उपलब्ध गराइने भएको छ । तानसेन कालीगण्डकी लिफ्ट खानेपानी योजनाबाट तानसेनका बासिन्दालाई सुविधा उपलब्ध गराइने भएको हो ।

उपभोक्ता समिति, निर्माण कम्पनी र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले एकवर्षभित्र सो आयोजना निर्माणका सम्पूर्ण काम सकी पानी वितरण गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिसेकेण्ड ४० लिटर पानी तान्ने क्षमतासहितको सो आयोजनाको हालसम्म ४० प्रतिशत काम सकिएको छ । हाल तानसेनमा पाँच दिनमा एक घण्टा खानेपानी वितरण हुँदै आएको छ ।

कालीगण्डकी लिफ्टबाट दैनिक १८ घण्टा पम्प सञ्चालन गर्दा २४ लाख लिटर पानी तानसेनको बतासेडाँडामा आउनेछ । हाल तानसेनमा भुल्के, सिस्ने, तीनधारा र होलाङ्दीबाट लिफ्ट गरी खानेपानी वितरण हुँदै आएकामा कालीगण्डकीको लिफ्ट खानेपानी योजना थपिएपछि दैनक ४० लाख लिटर हाराहारीमा पानी आपूर्ति हुने तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष चकोरमान शाक्यले बताए ।

उक्त योजनाबाट अहिलेसम्म पानी तान्नका लागि विद्युत् जडानको काम सकिएको र पानी संकलनका लागि कालीगण्डकीमा इनार निर्माणको काम भइरहेको छ । पानी तान्न विभिन्न पाँचवटा स्थानबाट एक÷एक लाख लिटर ट्याकी निर्माण गर्नुपर्नेमा तीनवटा ट्याङ्की निर्माण गरिएको छ । दुईवटा निर्माणको चरणमा रहेको र आठ इन्चको पाइप जडानको काम भइरहेको निर्माण कम्पनीका साइट इन्जिनियर दीपक न्यौपानेले जानकारी दिए ।

रु ४० करोडमा निर्माण भइरहेको तानसेन रानीघाट लिफ्ट खानेपानी योजना संझौता बमोजिम २०७५ मंसिर ७ गतेभित्र सक्नुपर्ने छ । खानेपानी योजनाको काम युद्धस्तरमा भइरहेको छ । विसं २०७५ फागुन चैतभित्र तानसेनका जनतालाई कालीगण्डकीको पानी खुवाउने खानेपानी तथा सरसफाइ डिभिजनका प्रमुख केशवलाल शाक्यले बताए । कालीगण्डकीको पानीले आगामी १५ वर्षका लागि अन्य स्रोत खोज्न नपर्नेमा उनले जोड दिए ।

तानसेन खानेपानी उपभोक्ता समितिले हाल निर्माण भइरहेको कालीगण्डकी लिफ्ट खानेपानी योजनाको निर्माणस्थलमा अवलोकन गराएको छ । निर्वाचित जनप्रतिनिधि, खानेपानी उपभोक्ता समितिका पदाधिकारी, राजनीतिक दल, पत्रकार, तथा सरकारी कार्यालयका प्रमुख, होटल व्यवसायी र उपभोक्ताले उक्त क्षेत्रको अवलोकन गरेका हुन् ।

कालीगण्डकीको पानी खान पाउने आशामा तानसेनवासीमा खुशियाली छाएको छ । सो कार्यका लागि नयाँधारा जडान गर्न निवेदन दिएको एक हप्तामै उपभोक्ताको घरमा धारा जडान हुने उपभोक्ता समितिले जनाएको छ । हाल तानसेनमा २० लाख लिटर पानीको आवश्यकता भएकामा दैनिक सात लाख लिटर आपूर्ति हुँदै आएको छ ।