गण्डकी प्रदेश

पर्वत कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

फलेवास, पर्वत । श्रेणीमा सूचीकृत पर्वत कारागारमा क्षमताभन्दा तेब्बर कैदी एकै ठाउँमा बस्न बाध्य भएका छन्  जम्मा २५ जनाको क्षमता भएको पर्वत कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदीबन्दी बस्दै आएका हुन् । हाल सो कारागारमा पाँच महिलासहित ७८ जना कैदीबन्दी छन् ।

कारागारका कार्यालयका प्रमुख मोहनप्रसाद उपाध्यायले कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएकाले बस्ने व्यवस्थाको अभाव भएपछि आपसी समझदारीमा मिलाएर एकै कोठामा धेरैलाई राखिएको बताए ।

कैदीबन्दीले पटक पटक समस्याबारे कारागार प्रशासनलाई जानकारी गराउँदै आएका छन् । कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय र कारागार विभागलाई जानकारी गराउँदै आएको छ ।

कैदीबन्दीका समस्याबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै आएका छौँ, जेलर उपाध्यायले भने, “समस्या समाधान भएको छैन ।” उनले खानेपानी र शौचालयको पर्याप्तता भए पनि सुत्नका लागि कैदीबन्दीलाई असहज भएको बताए ।

कारागारमा कैदीबन्दी बस्नका लागि दुईवटा ब्लक छन् । ती दुवै ब्लकको ग्यालरीमा कैदीबन्दी बस्ने गरेका छन् । महिला बन्दीगृहको व्यवस्था नभएको पर्वत कारागारमा पुरुष कैदीबन्दीका लागि नै निर्माण भएको बन्दीगृहभित्र फरक फरक ब्लक बनाएर राखिँदै आएको छ । महिला बन्दीगृह निर्माणको चरणमा रहे पनि झण्डै छ वर्ष बितिसक्दासम्म आर्थिक अभावमा निर्माण हुन सकेको छैन ।