अन्तर्राष्ट्रिय

आणविक सम्झौता भङ्ग ‘खतरनाक’: इरानी विदेशमन्त्री

तेहरान, इरान । इरानी विदेशमन्त्री मोहम्मद जावेद जरिफले अमेरिकाले सम्झौताबाट बाहिरिएपछि आणविक सम्झौतालाई जोगाउन असफल भएमा यो तेहरानका लागि निकै घातक हुने बताएका छन् ।

संयुक्त राज्य अमेरिकाले गत मे महिनामा आफू सन् २०१५ मा इरानसँग विश्व शक्ति राष्ट्रहरू बेलायत, फ्रान्स, जर्मनी, चीन र रूसले गरेको आणविक सम्झौतालाई नमान्ने घोषणा गरेको थियो ।

सम्झौता भङ्ग भएर इरानमाथि पुनः आर्थिक नाकावन्दी भएमा यसले इस्लामिक गणतान्त्रिक इरानसँग व्यापार साझेदारी रहेका मुलुकसँगको कारोबारलाईं प्रभावित बनाउने छ ।

यद्यपि सम्झौताका हस्ताक्षरकर्तामध्ये अमेरिका बाहेकका अन्य मुलुक सम्झौताबाट फिर्ता नहुने प्रतिवद्धता जनाइसकेका छन् तर उनीहरू अमेरिकाबाट जरिवाना लगाउने र विश्वास गुम्ने भयका कारण इरानबाट बाहिरिने कम्पनीलाई रोक्ने सन्दर्भमा शक्तिहीन देखिएका छन् ।

“आणविक सम्झौता असफल भएमा यो हाम्रा लागि निकै खतरापूर्ण हुनेछ,” इरानी विदेशमन्त्री जरिफले इरानको च्याम्बर अफ कमर्सलाई भनेका उद्धृत गर्दै आधिकारिक समाचार संस्था आइआरएनएले जनाएको छ ।

इरानमा कार्यरत कतिपय व्यवसायिक कम्पनीहरू अमेरिकाले सम्झौताबाट बाहिरिने घोषणासँगै आफ्ना गतिविधिमा सुस्ताउदै बाहिरिन थालिसकेका छन् । यसैगरी गत वर्षको सेप्टेम्बरपछि अहिलेसम्म रियलको मूल्यमा अमेरिकी डलरसँग ४७ प्रतिशत गिरावट आइसकेको छ ।