बाग्मती

जलाएर गाँजा नष्ट, फरार अभियुक्त पक्राउ

रत्ननगर, चितवन । इलाका प्रहरी कार्यालय खैरहनी चितवनले ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजा नष्ट गरेको छ । एक घरमा लुकाई राखिएको अवस्थामा बरामद गरिएको ११२ किलो गाँजा प्रहरीले नष्ट गरेको हो । खैरहनीका वडाध्यक्ष, जिल्ला अदालतका प्रतिनिधि, जिल्ला प्रसासन कार्यालय र पत्रकारको रोहवरमा आइतबार गाँजा जलाएर नष्ट गरिएको प्रहरीले जनाएको छ ।

राप्ती नगरपालिका–११ स्थित ठूलीमाया तामाङको घरमा भण्डारण गरी राखेको अवस्थामा बरामद गरिएको ११२ किलो गाँजा नष्ट गरिएको हो ।

गाँजा भण्डारण गरेको आरोपमा ठूलीमाया तामाङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए
लागूऔषध (नियन्त्रण) ऐनबमोजिम गाँजा सञ्चय गर्ने व्यक्तिलाई दुई वर्षदेखि १० वर्षसम्म कैद तथा रु १५ हजारदेखि एक लाख जरिवाना हुनसक्ने प्रहरी निरीक्षक विष्टले बताए । चितवनको राप्ती र खैरहनी नगरपालिकाको पहाडी क्षेत्रमा बढी गाँजाखेती हुने गरेको छ ।

यता जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिट गरी अंगभंग मुद्दाका फरार अभियुक्त जिल्ला चितवन भरतपुर महानगरपालिका–११ का २० वर्षीय नेप्टे भनिने नवीन गुरुङलाई पक्राउ गरेको छ ।

उनीसहितका केही व्यक्तिले भरतपुरका देवेन्द्रबहादुर गौतमलाई कुटपिट गरी अंगभंग गराएको आरोप लागेको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा, आचार्यले जानकारी दिए ।

उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका भरतपुरका स्थानीय राजन गौतम भने यसअघि नै पुर्पक्षका लागि थुनामा रहेका छन् । आइतबार पक्राउ परेका गुरुङलाई आवश्यक अनुसन्धानपछि जिल्ला अदालतमा पठाइने आचार्यले जानकारी दिए।