समाचार

नक्कली नागरिकताको प्रतिलिपि लिन खोज्ने युवा पक्राउ

खोटाङ । अभिलेखमै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने खोटाङका एक युवा पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उल्लेख नै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ३० वर्षीय उमेश क्षेत्री आइतबार पक्राउ परेका हुन् । २०६३ सालमा बनेको क्षत्रीको ९१९६ नम्बर उल्लेख भएको नागरिकता अर्कै व्यक्तिको नाममा रहेको पाइएपछि अनुसन्धानका लागि पक्राउ गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले बताए ।

पक्राउ परेका क्षेत्रीलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । क्षेत्रीले जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उल्लेख नै नभएको र नागरिकता प्रदान गर्ने प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर नै नभएको नागरिकताको फोटोकपी पेश गरेर प्रतिलिपि लिन खोजेको पाइएको छ ।

साविकको ज्यामिरे गाविस–९ ठेगाना भएको नागरिकताको फोटोकपीमा क्षेत्रीको जन्म मिति २०४२ साल असोज २३ गते तथा बाबुको नाम रामप्रसाद क्षेत्री उल्लेख रहेको प्रशासनले जनाएको छ ।