आर्थिक

महानगरपालिकाको बजेट किन आएन

ललितपुर । ललितपुर महानगरपालिकाले तोकिएको मितिमा बजेट सार्वजनिक गर्न सकेन । बजेटलाई लक्षित गरेर कार्यपालिकाको बैठक बस्न नसक्दा बजेट समयमा आउन नसकेको हो । यही असार २५ गते मात्रै बजेट सार्वजनिक गर्ने महानगरपालिकाले निर्णय गरेको छ ।

यसैबीच गोदावरी नगरपालिकाको बजेट सार्वजनिकीकरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीकी पम्फा भुसालले ललितपुर महानगरपालिकाले समयमा बजेट ल्याउन चुकेको बताए । समयमा बजेटमाथि छलफल नियाल्दा तोकिएको मितिमा बजेट आउन नसकेको हो । उनले भने, “हिजोअस्ति बैठक नै नबसेर बल्ल आजदेखि शुरु भएको छ ।”

वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जन चैतबाट बजेटमा छलफल थाल्नुपर्नेमा अझैसम्म शुरु नभएको बताउछन् । उनी भन्छन्, “आजदेखि बल्ल उहाँले बजेटमाथि छलफल शुरु गर्नुभएको छ ।” प्रमुख पटकपटक विदेश भ्रमण गइरहँदा पनि समयमा हुन नसकेको उनको आरोप छ ।

वडा नं २७ का अध्यक्ष बाबुराजा महर्जनले छलफल गर्दागर्दै बजेटलाई पूर्णता दिन नभ्याएको बताए । उनले भने, “ढिला भए पनि राम्रो बजेट ल्याउनुपर्छ ।” बजेटमाथि विस्तृतरुपमा छलफल भइरहेको उनले बताए।