समाचार

सुन्दरीजलस्थित प्रशोधन केन्द्र जीर्ण हुँदा धारामा धमिलो पानी

पूर्णप्रसाद मिश्र काठमाडौँ । सुन्दरीजलबाट उपत्यकामा वितरणका लागि ल्याइएको वाग्मतीको पानी राम्रोसँग प्रशोधन नहुँदा धमिलो पानी धारामा खस्ने गरेको छ ।

सुन्दरीजल प्रशोधन केन्द्रमा रहेका छवटा प्रशोधन केन्द्रमध्ये हाल दुईवटा मात्र सञ्चालनमा छन् । विसं २०२२ मा निर्माण भएको प्रशोधन केन्द्र हालसम्म मर्मत भएको थिएन । केन्द्रले पानी प्रशोधन नै गर्न नसक्ने भएपछि चारवटा केन्द्रको मर्मत शुरु गरिएको कार्यालय प्रमुख वसन्तकुमार पालले बताए ।

धाराको पानी पिउन त के कपडा धुन र नुहाउनसमेत नहुने धमिलो खस्न थालेपछि आज समता मानव अधिकार तथा नागरिक समाजले प्रशोधन केन्द्रको स्थलगत रुपमा अनुगमन ग¥यो । धारामा पानी नआउने, आएपनि धमिलो पानीमात्र आउने गरेकाले खानेपानीको मुहान क्षेत्रमै हाहाकार भएर अनुगमन गर्नुपरेको समाजका अध्यक्ष नोर्साङ शेर्पाले जानकारी दिए ।

“प्रशोधन गर्ने प्रयोजनका लागि राज्यको पैसा खर्च भएकाले शुद्ध पानी पिउन पाउने नागरिकको मौलिक हकको रक्षा हुनुपर्छ, केन्द्रमा कार्यालय र पर्याप्त मात्रामा कर्मचारीसमेत नभएको पाइयो, उपत्यकामा बढी पानी जाने केन्द्रको यस्तो हालत हुनुभएन, सुध्रनुपर्छ”–उनले भने ।

लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयले सुन्दरीजलमा विसं २०७० मा निर्माण गरेको ‘डिस्इन्फेक्सन प्लान्ट’ (शुद्घिकरण गर्ने उपकरण) सञ्चालन नै हुन नसक्दा पनि आधुनिक प्रविधिबाट पानी प्रशोधन हुन नसकेको कार्यालय प्रमुख पालले स्वीकारे । “प्रशोधन गर्न रासायनिक पदार्थ पनि पुग्दैन, ‘डिस्इन्फेक्सन प्लान्ट’ चलेन भनेर निर्देशनालयलाई पत्र लेखे पनि न त जवाफ आयो, न बन्यो”–उनले भने ।

सुन्दरीजल क्षेत्र जाँदैमा मीठो र शुद्ध पानी पाइएला भन्ने सबैको अनुमान हुन्छ । मुहानमाथिको बस्तीका कारण पनि वर्षाको पानी प्रदूषित हुने गरेको स्थानीय सन्दीप लामाले सुनाए । “पानीको मुहानमाथिको बस्तीमा भूकम्पले घरसँगै शौचालय पनि भत्किए, धेरै शौचालय अझै पुनःनिर्माण भइसकेका छैनन्, खुला शौचालय यहाँको बाध्यता बनेको छ, वर्षाको भेलले यो फोहर पानीपोखरीमै आउँछ”–उनले भने ।

पानीपोखरीमाथि रहेको मूलखर्क, चिलाउने, ओखरेनी, कुनेलगायतका बस्ती सार्न विगत ३० वर्षअघिदेखि बहस चले पनि अझै टुंगोमा पुग्न सकेको छैन । बस्ती स्थानान्तरण वा सरसफाइको अभियान दुवै अघि नबढ्दा उपभोक्ता भने धारामा बल्लबल्ल खसेको धमिलो पानी हेरेर बस्न बाध्य छन् ।

धारामा आएको पानी पिएपछि घाँटी दुख्ने र नुहाएमा जीउ चिलाउने समस्या देखिएको गोकर्णेश्वर नगरपालिका वडा नं ८, अत्तरखेलकी सहारा थापाको गुनासो छ । कपडा धुँदा रङ नै बदलिने समस्या आउन थालेको उनको भनाइ छ ।

संविधानमा खानेपानीलाई मौलिक हकका रुपमा उल्लेख गरिए पनि उपत्यकामा पानी बढी पाइने भनेर चिनिने मुहान क्षेत्रकै अवस्था दयनीय बनेको छ । सुन्दरीजल पानी प्रशोधन केन्द्रको पटकपटक अनुगमन गरी सेवाको गुणस्तर सुधार्न लिमिटेडलाई दिएको निर्देशन वेवास्ता गरिएको खानेपानी महसुल निर्धारण आयोगका अध्यक्ष उपेन्द्रकुमार अधिकारीले बताए ।

“प्रशोधन केन्द्र जीर्ण बन्दै जाँदा वर्षौँ अघिदेखि दिइएको निर्देशनअनुसार बल्ल मर्मत शुरु गरेर कार्यान्वयनतर्फ गएको छ, धेरै ठाउँमा मूल पाइपबाटै पानी वितरण र चोरी भएका छन्, त्यससम्बन्धी विवरण पेश गर्न आयोगले दिएको निर्देशन पनि लिमिटेडले मानेन”–उनले भने ।

निर्देशनालय स्रोतले भने आइरनमात्र प्रशोधन हुनेगरी प्लान्ट बनाइएको जानकारी दिएको छ । एमोनिया जस्ता व्याक्टेरिया नयाँ स्थापना गरिएको प्लान्टबाट प्रशोधन हुन नसक्ने जनाइएको छ । सुन्दरीजलबाट उपत्यकामा वर्षामा दैनिक नौ करोड लिटर र हिउँदमा छ करोड लिटर पानी आपूर्ति हुने गरेको लिमिटेडले जनाएको छ ।