खेलकुद

खोटाङ्गेलाई खुसीको खबर – बुइपामा सबैभन्दा ठूलो खेलमैदान निर्माण अन्तिम चरणमा

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा पूर्वी पहाडी जिल्लाकै सबैभन्दा ठूलो र व्यवस्थित खेलमैदान निर्माण हुने भएको छ ।

बुइपा इलाभेन स्पोर्टस् क्लबको पहलमा २०६७ सालदेखि निर्माण शुरु गरिएको खेलमैदान अन्तर्राष्ट्रिय मापदण्डअनुसारको हुनेछ ।

देशविदेशमा रहेका खेलप्रेमी तथा समाजसेवीबाट आर्थिक संकलन गरेर ३३ रोपनी जग्गा खरिद गरी खेलमैदान निर्माण कार्य शुरु गरिएको थियो । एक सय ४० मिटर लम्बाइ र ९५ मिटर चौडाइ रहेको खेलमैदान तीन वर्षअघिदेखि नै सञ्चालनमा ल्याइए पनि व्यवस्थित गर्ने कार्य जारी रहेको क्लबका अध्यक्ष सुनिल राईले बताए ।

जग्गा खरिद, मैदान निर्माण तथा व्यवस्थापनका लागि पूर्वसभासद् पाँचकर्ण राई (पिके)को संसदीय विकास कोषअन्तर्गत रु ४० लाख, राष्ट्रिय खेलकूद परिषद्को रु २० लाख र दाताहरुबाट संकलन भएको रकमसमेत गरी करीब रु दुई करोड खर्च भइसकेको अध्यक्ष राईले जानकारी दिए ।

खेलमैदान परिसरमा शौचालय निर्माण भइसकेको छ भने हाल विशिष्ट व्यक्तिका लागि आसन कक्षसहितको व्यवस्थित मञ्च निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ ।

खेलमैदानभन्दा एक तलामाथि गाह्रो उठाएर निर्माण गरिएको मञ्चमा एट्याच ट्वाइलेटको समेत व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०७५/७६ भित्रै दर्शकको आवश्यक्ताअनुरुप प्याराफिट निर्माण गर्ने कार्य शुरु गरिने निर्माण उपभोक्ता समितिले जनाएको छ ।

मैदान परिसरमा खानेपानीको व्यवस्था गर्न बाँकी रहेको छ । फुटबलको मापदण्डअनुसार ११ जना खेलाडी खेल्न मिल्ने गरी खेल मैदान निर्माण गरिएको छ । यसअघि तीन चारवटा प्रतियोगिता सञ्चालन भइसकेको उक्त खेलमैदानको चारैतिर कम्पाउण्डसहितको प्याराफिट निर्माण गर्ने योजना बनाइएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

जिल्लाका अन्य स्थानमा निर्माण गरिएका खेलमैदान सञ्चालनमा रहे पनि मापदण्डअनुरुप विकास गर्न सकिएको छैन । जिल्ला र तराई जोड्ने छोटो मार्ग सगरमाथा लोकमार्गअन्तर्गत गाईघाट–दिक्तेल सडकखण्डमा पर्ने भएकाले पनि उक्त खेलमैदानको विकासमा केन्द्रित हुनुपर्ने स्थानीयवासी बताउँछन् ।

खेलकूद कार्यक्रम आयोजना र सहभागिताका लागिसमेत बुइपा उपयुक्त भूगोल रहेको स्थानीयवासीको दाबी छ ।

निर्माणाधीन अवस्थामै रहेको उक्त बुइपा खेलमैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउन अझै रु दुई करोड आवश्यक पर्ने निर्माण उपभोक्ता समितिले जनाएको छ ।