विचित्र संसार

अब पृथ्वीको जुनसुकै स्थानमा एक घण्टाभित्र यात्रा

काठमाडौं । अन्तरीक्ष यान निर्माता स्पेस एक्सका प्रमुख एलन मस्क प्रविधिको क्षेत्रमा भविष्यद्रष्टा मानिन्छन्। उनी वैज्ञानिक आविष्कारको दुनियाँमा नयाँनयाँ अवधारणा सार्वजनिक गरिरहन्छन्। उनको यस्ता योजना व्यापारिक उद्देश्यसँग पनि जोडिएको हुन्छ।

भर्खरै आर्टिफिसियल इन्टेलिजेन्सका कारण प्रलय निम्तिने भविष्यवाणी गरेका मस्कले पृथ्वीको जुनसुकै स्थानमा एक घण्टाभित्र पुग्न सकिने र सन् २०२४ सम्म मंगल ग्रहमा मानिस पुग्ने बताएका छन्।

अष्ट्रेलियाको एडिलेडमा जारी इन्टरनेसनल एस्ट्रोनटिकल कंग्रेस (आइएसी) मा बोल्दै मस्कले यस्तो बताएका हुन्। स्पेस एक्सले युट्युबमा सार्वजनिक गरेको भिडियोमा लण्डनदेखि न्युयोर्कसम्मको यात्रा २९ मिनेटमा हुने बताइएको छ। उनले कंग्रेसमा दर्शकहरुमाझ मंगलग्रह पठाउने यानको निर्माण अर्को वर्षदेखि सुरु गर्ने पनि बताए।

मस्कले स्पेस एक्सले बिएफआर नामक यानको निर्माणमा ध्यान दिने बताए। स्पेस एक्सले बिएफआर अर्थात् ‘बिग फाल्कन रकेट’ निर्माण गर्ने योजना बनाइरहेको उनले बताए। कम्पनीभित्र यसलाई ‘बिग फकिङ रकेट’ पनि भन्ने गरिएको खुलासा उनले गरे। बिएफआरले स्पेसएक्सले अहिले गरिरहेका सम्पूर्ण काम गर्ने र अर्को ग्रहसम्मको यात्रा पनि तय गर्ने उनको दाबी छ। मस्कले पहिलो पटक अघिल्लो वर्षको आइएसीमा मंगलग्रहमा यान पठाउने महत्वकांक्षी योजना सार्वजनिक गरेका थिए। यसपटक उनले यसबारे केही हदसम्म विस्तृत विवरण सार्वजनिक गरेका छन्।

उनले भनेको बिएफआर मात्र १०६ मिटर उचाइ तथा ९ मिटर चौडाइको यान हुनेछ। उनले सम्पूर्ण कम्पनीको शक्ति यही एक प्रणालीमा लगाउने बताएका छन्। बिएफआरले अहिलेका अन्तरीक्ष यानभन्दा धेरै स्याटेलाइट प्रक्षेपण गर्न सक्नेछ। पृथ्वीभित्र यस्तो यानले २७ हजार किलोमिटर प्रतिघण्टाको दरले यात्रा गर्नेछ। यद्यपि मंगल अभियानको जस्तो विस्तृत विवरण पृथ्वीभित्रको यात्राबारे उनले दिएनन्।

स्पेस एक्सका सिइओ, चिफ डिजाइनर हुनुका साथै उनी टेस्ला इलेक्ट्रिक कारका संस्थापक तथा नवीकरणीय उर्जाको क्षेत्रमा काम गरिरहेको सोलारसिटी अध्यक्ष पनि हुन्।

आफ्ना महत्वकांक्षी योजनाहरु तोकिएको समयभित्रै पूरा नहुने पनि मस्क स्वीकार्छन्। उनले बिएफआरको मानवविहीन पहिलो संस्करण २०२२ सम्ममा मंगलग्रह पुग्ने बताए।

उनको महत्वकांक्षी योजना सुनेर आइएसीका ४ हजार दर्शकले ताली पिटे। तर ग्राहकहरुले आफूलाई सजिलै विश्वास नगर्ने कुराप्रति मस्क सचेत छन्। उनले आफ्ना ग्राहक परम्परावादी भएको र बिएफआरको अवधारणालाई पत्याउनुअघि ‘सेकेण्ड ह्याण्ड’ फाल्कन अन्तरीक्ष यानलाई बारम्बार पुनःप्रयोग गरेर देखाउनुपर्ने बताए।

‘स्पेस एक्सका एलन मस्क यस्तै छन्, उनी यस्तै गर्छन्,’ मेलबर्नस्थित स्विनबर्न विश्वविद्यालयका प्राध्यापक आलन डफीको भनाइ बिबिसीले उधृत गरेको छ, ‘उनीहरुसँग ठूलो भिजन छ र उनीहरु त्यसतर्फ काम गर्छन्। तर उनीहरु जहिल्यै दिमागमा नाफा राखेर मात्रै कदम चाल्छन्। यदि त्यहाँ उनीहरुले नाफा देखे भने ग्यारेन्टी दिन सकिन्छ, त्यो व्यवसाय सफल भयो।’ -एजेन्सी