सुदूरपश्चिम

नीति तथा कार्यक्रम सार्वजनिक

भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका विस्तृत प्रतिवेदन परियोजना (डिपिआर) तयार गरेर स्मृद्धितर्फ अगाडि बढ्ने भएको छ । तेस्रो नगरसभामा नगरप्रमुख दिलबहादुर ऐरले आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा सो कुराको जानकारी दिँदै नगरको समृद्धि, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चारको विकास, भौतिक पूर्वाधार निर्माण, पर्यटन तथा संस्कृति, वित्तीय तथा सहकारी, सिँचाइ, खेलकूदलगायतका विषय समेटिएका जानकारी दिए ।

नगरपालिकाको १२ वटै वडा जोड्ने गरी दुई लेनको चक्रपथ निर्माण गरी नगरबससमेत सञ्चालनमा ल्याउने कार्यक्रममा समावेश छ ।

आरक्षपीडित, मुक्तकमैया, दलित, आदिवासी जनजाति, राना तथा चौधरी, विपन्न परिवारका सदस्यलाई रोजगार तथा अन्य आयआर्जनका कार्यक्रम, लैङ्गिक हिंसा, लैङ्गिक विभेद, छाउपडी बोक्सीजस्ता कुप्रथाको अन्त्य र मानव बेचबिखन तथा ओसारपसारका विरुद्ध सामाजिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

फरक क्षमता भएका, ज्येष्ठ नागरिक, महिला, बालबालिका, एकल महिलाको आर्थिक सामाजिक विकासमा जोड दिँदै जीवनयापन गर्न पाउने वातावरण सिर्जना गर्नेलगायतका विषय पनि नीति तथा कार्यक्रममा समावेश गरिएका छन् ।

नगरसभामा नगर उपप्रमुख तुलसीदेवी हमालले आव २०७५÷७६ का लागि रु ४९ करोड २८ लाख, ३५ हजार ७०० अनुमानित आय–व्यय प्रस्तुत गरे । उनले स्थानीय तहको अनुभूति हुने गरी बस्ती–बस्तीमा बजेट पु¥याएको जानकारी दिए ।

आन्तरिक स्रोत, प्रदेश सरकारको अनुदान, वित्तीय सशर्त अनुदान, क्षेत्रीय शहरी विकास कार्यक्रम (एडिबी) लगायतका कार्यक्रममा आउने अनुदानलाई समेत समेटेर बजेट निर्माण गरिएको हो ।