लुम्बिनी

अलपत्र रहेको लखनपार्क बन्दैँ

तुलसी । घोराही उपमहानगरपालिकाको वडा नं १४ को मुख्य बजारमा लामो समयदेखि अलपत्र रहेको लखनपार्क निर्माण हुने भएकोे छ ।

जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं प्रदेश नं ५ का उपाध्यक्ष हेमराज बन्जाडेको संयोकत्वमा छ सदस्यीय उक्त पार्क गुरुयोजना निर्माण समिति गठन गरिएको वडाध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए ।

उक्त समितिको सदस्य सचिवमा पत्रकार महासंघ जिल्ला सदस्य जनक नेपाली तथा सदस्यहरुमा ऋषिराज शर्मा, दिलकुमारी बुढा श्याम सुवेदी र लोकराज पराजुली रहेका छन् ।

यही आर्थिक वर्षदेखि गुरुयोजना निर्माण गरी पार्क निर्माणको काम अगाडि बढाउने समितिका संयोजक बन्जाडेले बताए । साउनदेखि नै पार्कको दायाँबायाँ फोहरा निकाल्नका लागि खनिएको खाल्डो माटो भर्ने, पार्कको बाहिरी भागको दायाँबायाँ आठ फिट ढलानसहित स्ल्याप राखेर गाडी पार्किङको व्यवस्था गर्ने उनले जानकारी दिए ।

घोराही बजारको मुख्य भागमा रहेको करीब ११ कट्ठा क्षेत्रफलको सो पार्क निर्माणका लागि सबैसँग सहकार्य गर्ने पनि संयोजक बन्जाडेले बताए ।

हाल पुराना संरचना भत्काएर छाडिएको पार्क अलपत्र अवस्थामा छ । पार्कको वरपर लगाइएको टाएल, क्यारिलसमेत उठाएर राखिएको छ ।

गत वर्षको निर्वाचनमा पूर्व सभासद् राजु खनालको संसद् विकासकोषमार्फत पार्क निर्माणका लागि रु ४० लाख प्राप्त भएकामो रु १६ लाखमात्र खर्च भएको र बाँकी सबै रकम फ्रिज भएको पार्क निर्माण उपभोक्ता समितिका संयोजक दिलीप डिसीले जानकारी दिए ।

पार्क निर्माणका लागि प्राविधिकले नक्सा उपलब्ध नगराउँदा काम गर्न समस्या भएको उनको भनाइ थियो ।