राजनीति

सरकार सर्वसत्तावादतर्फ उन्मुख, सडक र सदनबाट आन्दोलन गर्छौं : नेता डा महत

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेपालको विकास हामी सबै नेपाली मिलेर गर्नुपर्नेमा जोड दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले हाल देशको आर्थिक क्षमताबाट रेल गुडाउन सकिने सम्भावना नरहेको बताए । नेता महतले थपे, “नेपाल आफैँले रेल निर्माण गर्न सक्दैन्, हाम्रा प्राथमिकता धेरै छन् । हामीले ऋण लिएर रेल सञ्चालन गरे पनि ऋण र ब्याज तिर्न सक्ने अवस्थामा छैनौँ ।”

सीमित स्रोत र साधन भएको मुलुक भएकाले नेपालले आन्तरिक आवश्यकता पूरा गर्नतिर ध्यान दिनुपर्ने औँल्याउँदै महतले भने, “रेल निर्माणजस्तो पूर्वाधार विकासबाट प्रतिफल लिनको लागि धेरै समय कुनुपर्छ ।” उनले चीन तथा भारतीय नेतृत्वसँग अनुदानमा रेल निर्माण गर्न आग्रह गर्नुपर्ने सुझाव दिए ।

नेता महतले नेपाली काँग्रेस पार्टीको जिल्ला सभापतिको भेला अत्यन्तै सकारात्मक र फलदायी भएको वताए । अहिलेको सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाउँदै उनले लोकतान्त्रिक मूल्य र मान्यतालाई बचाउन काँग्रेस आवश्यक परे सडक र सदनमा संघर्ष गर्न पनि तयार रहेको बताए ।