सूचना प्रविधि

जनताको इतिहास संघर्षको मैदानमा लेखिन्छः मन्त्री बास्कोटा

बनेपा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार जनताको समस्याबाट विमुख नभएको बताएका छन् । आज काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–८, मल्पिमा आयोजित शहीद पार्क उद्घाटन कार्यक्रममा उनले इतिहासको निर्माण गर्ने सन्दर्भमा कसै न कसैले जनताको इतिहास निर्माण गर्ने र यस्तो कार्यको संस्थागत विकासको कोशेढुंगाको रुपमा सगुन ताम्राकारको नाममा पार्क स्थापना भएको बताए ।

इतिहास धेरै लेखिन्छन्, तर स्वतन्त्रता, स्वाभिमान र राष्ट्रिय गौरवका इतिहास तथा जनताको इतिहास लेख्नु निकै चुनौतीपूर्ण भएको उनले बताए । “राजा महाराजाहरुको इतिहास खोपीमा बसेर लेखिन्छ, तर जनताको इतिहास संघर्षको मैदानमा लेखिन्छ ।” मन्त्री बाँस्कोटाले भने, “संघर्षको मैदानभित्र इतिहास लेखिने एउटा पात्र, योद्धा र शहीद सगुन ताम्राकार बन्नुभएको छ ।”

कार्यक्रममा उनले जनताको आशा आकांक्षा धेरै रहेको र स्रोत र साधन प्रशस्तै भए पनि पूँजी निर्माणको प्रक्रियामा धेरै पछाडी रहेको बताए । ‘संसारमा हुने स्रोत र साधन नदी, पानी, खानी, वन जंगल जडीबुटी, हिमाल हुन् र मान्छेहरु त्यही शिल्पी जसले परिश्रमी हातलाई चलाएर धनी भए’ उनले भने ।

“तर हामीले त्यसलाई सही सदुपयोग गर्नका निमित्त उनले बलिदानी गरेर यो अवस्था आयो ।” यस्तै बलिदानीपूर्ण संघर्षबाट नेपालमा ७० वर्षभित्रमा तीनवटा क्रान्तिकारी राजनीतिक परिवर्तन गरेको उल्लेख गर्दै पछिल्लो परिवर्तन गुणात्मक भएको र यसले नेपाललाई गणतन्त्रमा संस्थागत ग¥यो, उनले भने ।

उनले अब जनताद्वारा निर्वाचित शक्तिको आधारमा सरकार चल्छ र त्यो लोकतान्त्रिक हुन्छ भन्दैँ अहिले प्रतिपक्षी दलले अफवाह फैलाउने काम गरेको उल्लेख गरे ।

मन्त्री बाँस्कोटाले प्रश्न गर्दै भने, “समाजवाद, समृद्धिको मुद्दा र अभियानले अधिनायकवाद ल्याउछ भने गरिबीको वितरणले कुन वाद ल्याउँछ ?” उनले सरकार भ्रष्टाचार विरुद्ध निर्ममताको प्रयोग गर्दा मानिस अधिनायकवाद आउनै लाग्यो भन्छन् भने अब यस्तो अधिनायकवाद हजार चोटी आउने बताए ।

उनले सरकार अघि बढ्नको निम्ति समयको सदुपयोग सँगसँगै दिगो विकासको युग प्रारम्भ भएको बताए । उनले चीन र भारतसित ठूलठूला जलविद्युत् आयोजनाका सम्झौता भएको उल्लेख गर्दै आफ्नै क्षमताले पनि धेरै योजना सन्चालन गरिरहेको बताए ।

उनले भने, “जबेसम्म आर्थिक उत्पादन र उत्पादकत्व वृद्धि हुँदैन, तबसम्म समृद्धिको बाटो लिँदैन ।” त्यसको लागि लगानीको वातावरण र कार्यान्वयनको लागि ऐन, कानून र नियमलाई सरलीकृत बनाउनेतर्फ सरकार लागेको उनले बताए।

त्यसको लागि आर्थिक विकास, स्रोतसाधनको न्यायोचित वितरण र राष्ट्रिय पूँजीको निर्माण तथा आम जनताको जीवनमा परिवर्तन ल्याउनका निमित्त नीति, योजना, बजेट र कार्यक्रम तर्जुमा गरेको बताए ।

उनले अब राजनीति राजनीतिक पार्टीले मात्रै गर्ने उल्लेख गर्दै संघीय, प्रादेशिक र स्थानीय तहको सरकारले आर्थिक समृद्धि, सुशासन र न्यायपूर्ण समाजमार्फत समाजवादी समाज निर्माणको लागि काम गर्नेछ ।

विसं २०६२÷६३ को आन्दोलनका क्रममा शहीद भएका सगुन ताम्राकारको जन्मभूमि काभ्रेपलाञ्चोकको पनौतीमा शालिक अनावरण गरिएको छ । ताम्राकार काठमाडौँको कलंकीमा २०६३ वैशाख ७ गते बिहान ११ बजे निस्केको जुलुसमा प्रहरीले चलाएको गोली लागेर १९ वर्षको उमेरमा निधन भएको थियो । सो क्रममा ताम्राकारसँगै शहीद गंगालाल श्रेष्ठ, दशरथचन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको शालिक निर्माण गरी लञ्जावती शहीद पार्क स्थापना गरिएको छ ।