प्रदेश 1

पञ्चदोबाटो बजार नगरपालिकाको दोस्रो ठूलो व्यापारिक केन्द्र

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोको बजारलाई सुधार गरिएको छ । नगरपालिकामा दिक्तेल बाहेक अर्को दोस्रो ठूलो व्यापारिक केन्द्र बनाउने उद्देश्यले हरेक शुक्रबार हटिया लाग्ने पञ्चदोबाटो बजारको समग्र सुधार गरिएको हो ।

नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा बजारमा स्टिल ट्रस, शौचालय, बगैँचा, विद्युत्, खानेपानीलगायतको व्यवस्था मिलाइएको छ । जिल्लाको अर्गानिक खाद्य सामग्री खरिद तथा बिक्री हुने उक्त बजारमा अहिलेसम्म नगरपालिका र स्थानीयवासीको श्रमदान गरी करीब रु दुई करोडको लगानीमा भौतिक संरचना निर्माण गरिएको छ ।

लामो समयदेखि हटिया लाग्ने पञ्चदोबाटोमा यसअघि चित्राको छाप्रो हालेर व्यापार गर्ने गरिएको थियो । खोटाङको मात्र नभई छिमेकी जिल्ला उदयपुरका सर्वसाधारणले समेत प्रत्यक्ष सेवा लिने उक्त ठाउँमा अहिले ४२ वटा स्टिल ट्रसको पसल निर्माण गरिएका छन् ।

उपभोक्ताको माग र व्यवसायीको निवेदनको आधारमा थप २३ वटा पसल निर्माणको काम थालिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष सुनिल राईले बताए । काम डेढ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
सगरमाथा लोकमार्गमा पर्ने पञ्चदोबाटो बजार यसअघि धुलो र फोहरको डंगुरले अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएको थियो । बजारलाई व्यवस्थित र आधुनिकीकरण गरेपछि व्यापारीको संख्या पनि वृद्धि हुँदै गएको जनाइएको छ ।

परम्परागत रुपमा सञ्चालन हुँदै आएको बजारलाई आधुनिकीकरण गरिएपछि व्यवसाय सञ्चालनमा सहज भएको व्यापारी कपिलमणि बस्नेतले बताए । “यसअघि पानी पर्दा र हावा चल्दा भाग्नुपर्ने अवस्था थियो,” सत्र वर्षदेखि कपडा व्यापार गर्दै आएका बस्नेतले भने – “बजारलाई व्यवस्थित गरेपछि ढुक्क भएर व्यापार गर्न पाइएको छ । पहिलेको तुलनामा व्यापार पनि बढेको छ ।”

हप्ताको एक दिनमात्र हटिया लाग्ने पञ्चदोबाटोमा बस्नेतसँगै करीब १५० जना व्यापारीले लामो समयदेखि व्यापार गर्दै आएका छन् । हटियाको दिन न्यूनतम रु १० हजारदेखि ५० हजारसम्म व्यापार हुने गरेको व्यापारी बताउँछन् ।

तरकारी, थोकवस्तु, लत्ताकपडा, भाँडाकुँडालगायत छुट्टाछुट्टै राखेर बिक्री गर्न गराउन बजारलाई आधुनिकरुपमा विकास गर्ने योजनाका साथ काम अगाडि बढाइएको वडाध्यक्ष दिनेश राईले बताए । “पञ्चदोबाटो बजारलाई वडाको गौरवको आयोजनाका रुपमा विकास गर्ने योजना छ,” उनले भने – “यसलाई थप प्रभावकारी बनाउन योजनाबद्ध तरिकाले अगाडि बढेका छौँ ।”

पञ्चदोबाटो बजारमा विशेष गरी चामल, दाल, तरकारी तथा फलफूल, कुखुराको भाले तथा सुँगुरको पाठापाठीलगायत घरायसी उत्पादन खरिद तथा बिक्री हुने गर्दछ । सडक सञ्जालको राम्रो पहुँच रहेको उक्त बजारमा अर्गानिक खाद्यवस्तु पाइने भएकाले पनि व्यापारिक केन्द्र बनेको हो ।

लेक र बेँशीको बीच भागमा सञ्चालन हुने पञ्चदोबाटो बजारमा लेकालीले झारेको आलु, मकै, गहुँ तथा सागसब्जी बेँशीकाले उत्पादन गरेको दाल, चामल, फलफूलसँग साटासाट गर्ने चलनसमेत रहेको छ । पुरानो तथा ऐतिहासिक बजार पञ्चदोबाटोलाई स्थानीय तह अस्तित्वमा आएपछि व्यवस्थित गर्न शुरु गरिएको हो ।