देश

चतराको जेटबोट दोलालघाटसम्म सञ्चालन हुने

गाईघाट, उदयपुर । सुनसरीको चतरा र उदयपुरको बेलका बीच सप्तकोशीमा सञ्चालन हुँदै आएको जेटबोटलाई अब एक वर्षभित्र संखुवासभाको तुम्लिङटारदेखि काभ्रेको दोलालघाटसम्म सञ्चालन गरिने भएको छ । हाल बेलुकाको डुम्रीबोट, चतरा हुँदै भोजपुरको हतुवा र धनकुटाको तमोरसम्म सञ्चालन हुँदै आएको जेटबोटलाई अब एक वर्षभित्र विस्तार गर्न लागिएको चतरा बेलका पर्यटन जेटबोट प्रालिका संयोजक कविनकुमार राईले बताए ।

राई भने, “सप्तकोशीको जेटबोट संखुवासभाको तुम्लिङटार हुँदै सुनकोशी भएर काभ्रेको दोलाल घाटसम्म लान सकिन्छ । एक वर्षभित्र यो योजना सफल बनाउन लागिपरेका छौँ ।” उदयपुरको बेलकाको डुम्रीबोटे चतरा भएर संखुवासभाको तुम्लिङटारमा जेटबोट पु¥याउन अरुण नदीमा केही स्थानमा ढुंगा हटाउनु पर्नेछ । यसैगरी, सप्तकोशी हुँदै सुनकोशी भएर काभ्रे दोलालघाट जेटबोट लान सुनकोशीका केही स्थानमा पनि ढुंगा फुटाल्नुपर्ने अवस्था रहेको छ ।

आगामी हिउँददेखि एक वर्षभित्र उदयपुरको, बेलका चतरा, तुम्लिङटार, काभ्रे दोलाघाट मोटरजेट चल्ने बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा बताउँछन् । सप्तकोशीबाट सुनकोशी हुँदै काभ्रेको दोलालघाटसम्म जेट सञ्चालन भएमा राजधानी काठमाडौँदेखि सुनकोशी सप्तकोशी भएर पूर्वको जलयात्रा गर्न सहज हुने सम्बद्ध पदाधिकारी बताउँछन् ।