लुम्बिनी

आगामी वर्षलाई कृषि तथा पशुपालन वर्षका रुपमा मनाइने

दाङ । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षलाई व्यावसायिक कृषि तथा पशुपालन वर्षका रुपमा मनाइने नीति सार्वजनिक गरेको छ । शुक्रबारबाट शुरु भएको तेस्रो नगरसभामा उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले प्रस्तुत गरेका नीति तथा कार्यक्रममा सो नीति सार्वजनिक गरिएको हो ।

छ सय बिगाह क्षेत्रफलमा व्यावसायिक फलफूल बगैँचा निर्माण, थप ५०० बिगाहमा व्यावसायिक तथा बेमौसमी तरकारीखेती उत्पादन, व्यावसायिक मह उत्पादन तथा प्रशोधन, दूध, मासु र अण्डाको उत्पादनमा वृद्धि तथा उत्पादित त्यस्ता वस्तुमा आधारित कृषिजन्य उद्योग स्थापना गर्न लागि विशेष कार्यक्रम ल्याइने प्रस्तुत नीतिमा उल्लेख छ ।

यसैगरी, कृषि पकेट क्षेत्र निर्धारण गरी उत्पादन तथा उत्पादकत्व बढाउन कृषि सामग्री, सीप, पूँजी र प्रविधिको प्रयोगलाई व्यापक बनाइने, बजार क्षेत्रमा प्रांगारिक उत्पादन पाइने पसल सञ्चालन गर्न स्थानीय समुदाय वा सहकारीलाई सहयोग प्रदान गरिने, व्यावसायिक पशुपक्षी तथा माछापालनमा जोड दिइने र आगामी आवमा निजी वा सहकारी क्षेत्रबाट कम्तीमा २५ हजार लिटर दैनिक दूध संकलन गरी दूधजन्य पदार्थ उत्पादन गर्ने डेरी उद्योग सञ्चालन गर्न सहकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्ने नीति उपमहानगरपालिकाले लिएको छ ।

उपमहानगरपालिकाले सामूहिक कृषि तथा पशुपालनमा जोड दिइने, कृषियोग्य जमीनको खण्डीकरण लाई रोक्ने, साना सिँचाइ, स्यालो ट्युवबेल, डिप बोरिङ र वर्षात्को पानी जम्मा गरेर पोखरी बनाई कम्तीमा यस आवमा थप एक हजार ५०० हेक्टर जमीनलाई पूर्ण सिँचाइयुक्त बनाइने नीति लिएको छ ।

उपमहानगरपालिकाभित्र कुनै पनि जमीनलाई बाँझो राख्न नपाइने नीति लिइने र वर्षमा एक बाली पनि खेती नगर्ने वा फलफूल नरोप्ने वा जमीनमा कुनै संरचना नबनाई बाँझो छोड्ने कार्यलाई निरुत्साहित गराउन बाँझो जमीनमा अतिरिक्त मालपोत शुल्क लगाइने नीति उपनगरपालिकाले लिएको छ ।

प्रस्तुत नीतिमा पर्यटकीय सम्भावना बोकेका चमेर गुफा, छिल्लीकोट, थर्कोट, राप्ती शान्ति उद्यान, दंगिशरण दरबार, गौरीगाउँ ताल, बबई नदीलगायतका प्राकृतिक, ऐतिहासिक, पुरातात्विक स्थललाई थप सौन्दर्यकरण र सुविधाजनक बनाइने उल्लेख छ ।

यसैगरी व्यापारिक भवन, रंगशाला, खेलमैदान, खानेपानी, सडक, यातायात, प्राविधिक शिक्षालय, पार्क, चिडियाखानाजस्ता गौरवका योजना निर्माण, सञ्चालन, व्यवस्थापन र हस्तान्तरण गर्ने छ, नीति तथा कार्यक्रममा भनिएको छ, “तुलसीपुर उपमहानगरपालिकास्थित टरिगाउँ विमानस्थलको स्तरोन्नति, धावनमार्ग विस्तार, इन्धन डिपो स्थापनाजस्ता काममा विशेष पहल गरी हवाई सेवालाई नियमित बनाउन प्रदेश र संघीय सरकारसँग समन्वय गरिने छ । ”

यस क्षेत्रकै गौरवका रुपमा रहेका राप्ती आँखा अस्पताल, अञ्चल अस्पताल र क्षेत्रीय आयुर्वेद अस्पताललाई स्तरोन्नतिमा सहयोग गर्दै नागरिकले आवश्यक स्वास्थ्य सेवा सहज, सुलभ र विश्वसनीय रुपमा उपभोग गर्न पाउने व्यवस्था मिलाइने नीति उपमहानगरपालिकाले लिएको छ ।

उपमहानगरपालिकास्थित नेपाल संस्कृत विश्वविद्यालयलाई संस्कृत वाङ्मय, पूर्वीय दर्शन, आध्यात्मिक आयूर्वेदिक, योग र पौराणिक शास्त्रको अध्ययन र अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । तुलसीपुर उपमहानगरपालिकालाई आत्मनिर्भर, समाजवाद उन्मुख, सुन्दर र समृद्ध बनाउने साझा ध्येय रहेको नीति तथा कार्यक्रममा उल्लेख छ ।