शिक्षा

भागवत विद्यालय निर्माणका लागि महायज्ञ

काठमाडौँ । नेपालमा ‘भागवत विद्यालय’ स्थापनाका लागि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाइएको छ । विश्व शान्ति अभियान नेपाल र नेपाल गृहस्थ धर्मसेवा सदनको संयुक्त आयोजनामा आजदेखि सामाखुशीको टाउन प्लानिङस्थित विनायक मन्दिरमा महायज्ञ शुरु गरिएको हो ।

महायज्ञमा आचार्य श्रीरामचन्द्र पौडेल र तुलसीराम पोखरेलले कथा वाचन गर्ने कार्यक्रम छ । असार १७ गतेसम्म सञ्चालन हुने महायज्ञमा आज कलशयात्रा र भागवतको शुरुवात गरिएको हो ।

भागवत पढ्न भारतको बृन्द्रावनमा जानुपर्ने अवस्था आएकोमा नेपालमा नै भागवत विद्यालय स्थापना गर्न सकिए नेपालीलाई सजिलो हुने भएकाले महायज्ञ लगाइएको विश्व शान्ति अभियान नेपालका अध्यक्ष मुरलीधर पोखरेलले जानकारी दिए । उक्त विद्यालय काठमाडौँमा स्थापना गरिने पनि उनले बताए ।

हाल नेपालीहरु भारतको बृन्द्रावनमा गुरुपूर्णिमाको दिनमा गएर अर्को वर्षको गुरुपूर्णिमाका दिनसम्म भागवत पढेर आउने गरेका छन् । महायज्ञसँगै पितृमोक्ष यज्ञसमेत लगाइने अध्यक्ष पोखरेलले बताए । उक्त महायज्ञका लागि दिदीबहिनी समूह र संस्कार समाज नेपाललगायतका संघ संस्थाले सहयोग गरे ।