प्रदेश 1

यासोकमा खानेपानीको संकट

पाँचथर । सुख्खाग्रस्त कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा खानेपानीको हाहाकार भएको छ । केही दिनअघि सडकमा बिच्छाइएको खानेपानीको पाइप बजार व्यवस्थापनले हटाएपछि खानेपानीको समस्या भएको हो ।

बजारमा विगत लामो समयदेखि खानेपानीको समस्या हुँदै आएको छ । दिन बिराएर प्रतिघरधुरी ५० लिटर पानी धारामा थाप्दै आएका बजारबासीहरु अहिले पानी आउन छाडेपछि मारमा परेका छन् ।

बजार आसपास पानीको स्रोत नभएकाले ट्र्याक्टरमा ढुवानी गरेको पानी प्रयोग गर्न बाध्य भएको स्थानीय होटल व्यवसायी केशव थापाले बताए ।

अल्पकालीन रुपमा बजारमा देउराली खानेपानी आयोजनाको पानी दिन बिराएर आउने तर त्या पानी पनि आउन छाडेको छ । खानेपानीको हाहाकार भएपछि गाउँपालिकाको ट्र्याक्टरबाट स्थानीय छोरुङगा खोलाकोे पानी बजारमा बितरण गरिँदै आइएको छ ।
विगत लामो समयदेखि गाउँपालिकामा खानेपानीको चर्को समस्या छ । यासोक–देउराली खानेपानी आयोजनाले व्यवसायीहरुलाई पानी वितरण गर्दै आए पनि स्थानीय बासिन्दाको मागलाई धान्न सकिरहेको छैन ।

यासोक–देउराली खानेपानी आयोजनामा ६ सय ५० घरधुरी आश्रित रहेका छन । तर पानीको चुहावट रोक्न नसक्दा बजारवासीले लामो समयदेखि खोलाको पानी उपभोग गर्दै आएका छन । बजारमा दैनिक दुई लाख ५० हजार लिटर पानी खपत हुने गर्दछ । तर अहिले दैनिक ४० हजार लिटर मात्रै पानी आपूर्ति भइरहेको छ ।

बजार व्यवस्थापन गर्न अझै केही दिन लाग्ने भएकाले खानेपानीको समस्या थप केही समयसम्म रहने बजार व्यवस्थापन उपभोक्ता समितिका सचिव महेन्द्रबहादुर खड्काले बताए ।