शिक्षा

एसईईको नतिजा आज सार्वजनिक हुदैँ, कसरी हेर्ने ?

काठमाडौं । गत बर्षको चैत्रमा सञ्चालन गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार(आज) सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजाका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ । आज दिउँसो कार्यालयको बोर्ड बैठक बस्ने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको हो ।

नियन्त्रण कार्यालयले अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताईन् । यसवर्षको परीक्षामा नियमिततर्फ चार लाख ८५ हजार ५८६ परीक्षार्थी र प्राविधिकतर्फ ८ हजार ७०८ जना परीक्षार्थी सहभागि भएका थिए । नतिजा ग्रेडिङ पद्धतिमार्फत हुनेछ ।

परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गर्न लागेको परीक्षाफल उसका लागि अन्तिम पटकको हुनेछ किनभने परीक्षाफल प्रकाशनको जिम्मा प्रदेशलाइ दिईसकिएको छ । सार्वजनिक भइसकेपछि नतिजा थाहा पाउन परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक बेबसाइटमा हेर्न सकिनेछ ।