पु.समाचार

निष्क्रिय पत्रकारको सदस्यता नवीकरण नहुने

बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले निष्क्रिय पत्रकारको सदस्यता नवीकरणको सिफारिस नगर्ने भएको छ ।

दुई वर्षभन्दा बढी समयदेखि विदेशमा रहेका सदस्यको पनि जिल्लामा सदस्यता नरहने शाखाले जनाएको छ । महासंघ प्रदेश समितिको निर्देशनअनुसार सदस्यता शुद्धीकरण अभियान थालिएको शाखा अध्यक्ष दिल शिरीषले बताए ।

शाखामा हाल आबद्ध रहेका १८१ सदस्यमध्ये बढीमा ३५ जना पत्रकारमात्र सक्रिय छन् । वर्षौंदेखि पत्रकारितामा नरहे पनि वार्षिक शुल्क बुझाएकै भरमा सदस्यता नवीकरण हुने गरेको छ । सदस्यता लिनेमा राजनीतिक दलका नेतादेखि व्यवसायीसम्म छन् । “पत्रकारितामा निष्क्रिय सदस्यलाई सक्रिय बनाउन पहल गर्छौं”, अध्यक्ष शिरीषले भने, “क्रियाशीलता नदेखिएमा सदस्यता नवीकरण हुन्न ।”

जिल्ला शाखाअन्तर्गत रही सदस्य लिने पत्रकारको न्यूनतमरुपमा भए पनि समाचार या अखबारी लेखन नियमित हुनुपर्ने जनाइएको छ । पत्रकारिता पेशालाई जिम्मेवार र मर्यादित बनाउन सदस्यता शुद्धीकरण गर्नु परेको शाखा सचिव राम थापाले बताए।

महासंघ केन्द्रले पनि सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा कडाइ गर्ने नीति अख्तियार गरेको छ । मुलुकभर महासंघका साधारण सदस्य हजारौँको संख्यामा रहे पनि कममात्र सक्रिय पत्रकारितामा छन् । निष्क्रिय सदस्यहरु महासंघको नेतृत्व फेर्ने चुनावमा मतदाताको भूमिकामा मात्र सीमित छन् । महासंघको प्रदेश नं ४ समितिको पहिलो बैठकले पनि सदस्यता शुद्धीकरण गर्ने निर्णय गरेको थियो ।
जिल्ला शाखाबाट गएको सिफारिसकै आधारमा महासंघ केन्द्रले सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने गरेको छ ।