शिक्षा

आर्थिक समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यक

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरिबी हटाउन र आर्थिक समृद्धिका लागि प्राविधिक शिक्षाको आवश्यकता रहेको बताए । एसओएस बालग्रामको आयोजनामा आज यहाँ भएको अन्तर्राष्ट्रिय एसओएस दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले मुलुकको गरिबी हटाउन र आर्थिक समृद्धि प्राप्त गर्न प्राविधिक शिक्षाको विकास हुनुपर्दछ भने ।

मुलुकको गरिबी हटाउन र आर्थिक समृद्धि प्राप्त गर्न प्राविधिक शिक्षाको जरुरी रहेको बताउँदै मुख्यमन्त्री शाहीले उत्पादन र श्रमसँग जोडिने शिक्षा प्रणालीको विकास गर्नुपर्ने बताए। वर्तमान शिक्षा प्रणालीमा आमूल परिवर्तनको आवश्यकता रहेको मुख्यमन्त्री शाहीको भनाइ छ ।

उनले वर्तमान शिक्षा प्रणालीको परिवर्तनसँगै शिक्षालाई श्रमसँग जोडेर लैजानुपर्ने धारणा राखे । शिक्षा आर्जन गरिसकेपछि श्रमबाट भाग्ने प्रवृत्तिको अन्त्यका लागि प्राविधिक शिक्षाको जरुरी रहेको उनले बताए ।

सामाजिक, आर्थिक र सांस्कृतिक कारणले शिक्षा क्षेत्रबाट वञ्चित बालबालिकालाई शिक्षित गराउन एसओएस बालग्राम विद्यालयले महत्वपूर्ण भूमिका खेलेको बताउँदै मुख्यमन्त्री शाहीले प्रशंसा गरे । शैक्षिक क्षेत्रको विकासका लागि गैरसरकारी क्षेत्रको समेत ठूलो योगदान रहेको बताउँदै राम्रो काम गर्ने गैरसरकारी संस्थासँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री शाहीको भनाइ छ ।