समाचार

जनतामुखी सेवा र पूर्वाधारमा प्रदेश सरकारको जोड

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाले आसन्न तेस्रो नगरसभामा लैजाने नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने विषयमा प्रदेश नं ४ का मुख्यमन्त्रीसहित मन्त्रीसँग गरिएको छलफलमा जनतामुखी सेवा र पूर्वाधारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ ।

प्रदेशको समृद्धि र विकास जनतासँग प्रत्यक्ष जोडिएको बताउँदै छलफलमा सहभागी मन्त्रीहरूले जनतामुखी सेवा र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै जनअपेक्षालाई सम्बोधन गर्नुपर्ने सुझाव दिए ।

छलफलमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराको विकासका लागि महानगरसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउँदै प्राथमिकताका क्षेत्र तोकेर विकास निर्माणका साथै सार्वजनिक जग्गाको संरक्षणमा ध्यान दिन सुझाव दिए ।

उनले महानगरले आन्तरिक सडक व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिँदै चारदेखि छ लेनका सडक निर्माणलाई प्राथमिकता दिएमात्र पोखराको सुन्दरता झल्किने धारणा राखे ।

क्षेत्रीय बसपार्क निर्माण प्रदेश सरकारको प्राथमिकता भएकाले महानगरले मेट्रो बसपार्कतर्फ सोच्न आग्रह गर्दै उनले पोखराको प्रत्येक वडामा एउटा पार्क निर्माण गर्ने योजनालाई समेट्नुपर्ने उल्लेख गरे।

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पोखरा प्रदेशको राजधानी भएकाले यसलाई आधुनिक शहर निर्माण गर्न आवश्यक पूर्वाधारमा जोड दिनुपर्ने बताए ।

सडक विस्तारका साथै बसबिसौनी निर्माणमा ध्यान दिएर पोखराको ट्राफिक व्यवस्थापन अपरिहार्य भएको बताउँदै उनले महानगरले कर बढाएर नभई दायरा बढाएर राजश्व संकलनमा जोड दिनुपर्ने औँल्याए ।

आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले स्थानीय तह र प्रदेश बलियो भएमात्र संघीयता बलियो हुने धारणा राख्नुभयो । उनले पोखरा शहरलाई प्रविधिले निगरानी गर्नुपर्ने उल्लेख गर्दै सडक सुरक्षामा ध्यान दिन आवश्यक भएकामा जोड दिए ।

भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले पोखराका पर्यटकीय र ऐतिहासिकस्थलको संरक्षण गर्नुपर्ने बताउँदै जथाभावी राखिएका बिजुलीका पोल हटाएर तारलाई जमिनमुनि व्यवस्थापन गर्नुपर्ने उल्लेख गरे ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले पोखराका कृषि कोल्ड स्टोर्स निर्माणको योजना मन्त्रालले बनाएको बताउँदै महानगरसँग सहकार्य गर्ने धारणा राखे।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटन पूर्वाधारमा महानगरसँग सहकार्य गर्न मन्त्रालय तयार रहेको बताउँदै रत्नमन्दिरलाई सङ्ग्रहालयका रुपमा विकास गरेर पर्यटकीय गन्तव्य बनाउन मन्त्रालय र महानगरको सहकार्य हुनुपर्नेमा जोड दिए ।

सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले प्रदेश विश्वविद्यालय र प्राविधिक महाविद्यालय बनाउने योजना मन्त्रालयले बनाएकाले महानगरसँग सहकार्य गरेर काम गर्ने विचार व्यक्त गरे ।

प्रदेश नं ४ का मुख्यसचिव नारायणप्रसाद बिडारीले महानगरले पर्यटन र कृषिलाई विशेष महत्व दिनुपर्ने उल्लेख गरे ।

महानगर प्रमुख मानबहादुर जिसीले स्थानीय तह सेवा प्रदायक संस्था भएकाले सेवालाई चुस्त, दुरुस्त, छिटो, छरितो बनाउँदै पोखरालाई आधुनिक शहर बनाउन चाहिने पूर्वाधार निर्माणलगायतका विषयलाई प्राथमिकतामा राखिएको बताए ।

छलफलमा पोखरा लेखनाथ महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेललगायतले महानगरका भावी योजनालगायतका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

यही असार १० गते महानगरको तेस्रो महानगरसभा हुँदैछ । महानगरले रु पाँच अर्ब ६५ करोडको बजेट ल्याउने तयारी गरेको छ ।