लुम्बिनी

महिलालाई आधुनिक चुलो

रामपुर, पाल्पा । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले आफ्ना महिला सदस्यलाई निःशुल्क आधुनिक चुलो वितरण गरेको छ ।

विभिन्न समूहमा रहेर बैंकिङ कारोवार गर्दै आएका महिलालाई चुलो वितरण गरिएको हो । पाल्पाको बगनासकाली गाउँपालिकामा रहेका तीन समूहका करीब ३० महिला सदस्यलाई चुलो वितरण गरिएको बैंकका अध्यक्ष बाबुराम विश्वकर्माले बताए ।
उनका अनुसार चण्डीदेवी महिला बैंकिङ समुदाय, समाज सुधार महिला बैंकिङ समुदाय र उत्कृष्ट महिला बैंकिङ समुदायमा आबद्ध महिलालाई चुलो वितरण गरिएको हो । चुलो पाउनेमा अधिकांश दलित, कुमाल, जनजाति र विपन्न महिला रहेका छन् ।

करीब रु पाँच हजार मूल्य पर्ने सो आधुनिक चुलो निकै किफायती रहेको सहयोगी संस्था ‘विन रक इन्टरनेशनल’का रवीन श्रेष्ठले बताए । आधुनिक चुलोबाट कम धुवाँ निस्कने, दाउरा कम लाग्ने, कम समयमा खानाका परिकार पाक्ने, भाँडा कम मात्रामा कालो हुने, वातावरण प्रदूषणमा कमी आउने, खाना पकाउने भान्छेलाई कम असर गर्नेलगायतका फाइदा हुने श्रेष्ठको भनाइ छ ।

बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले आधुनिक चुलो वितरणले गाउँपालिकालाई हराभरा बनाउने अभियानमा मद्यत पुग्ने बताए । अधिकांश बैंकले नाफा कमाउने उद्देश्यले वित्तीय कारोवारमात्रै गरेको भन्दै उनले जनउत्थानले चुलो वितरण गरेर अनुकरणीय सामाजिक काम गरेको बताए ।

बैंकका कार्यकारी प्रबन्ध निर्देशक श्रीराम पोखरेलले १५ जिल्लामा ३१ शाखा रहेको जनउत्थान लघुवित्त विकास बैंकमा हाल २४ हजार सदस्य रहेको जानकारी दिए । उनले १४ हजार सदस्यलाई रु ९३ करोड कर्जा लगानी तथा रु २४ करोड बचत रहेको बताए ।