खेलकुद

खेलकूद प्रशिक्षक कामविहीन

बागलुङ । भौतिक पूर्वाधार र सामग्रीको अभावमा यहाँका खेल प्रशिक्षक कामविहीन बनेका छन् । सरकारी तलब खाने प्रशिक्षक वर्षौंदेखि फुर्सदिला देखिन्छन् । जिल्ला खेलकूद विकास समितिअन्तर्गत एक प्रशिक्षक र छ सहायक प्रशिक्षक गरी सात खेलका प्रशिक्षक छन् जसमा भारत्तोलन, ह्याण्डबल र जिम्न्यास्टिकको प्रशिक्षण अहिले बन्द छ ।
पूर्वाधारको कमीले प्रशिक्षण चलाउन नसकिएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ । समितिको नाममा रहेको एउटा मात्र ‘टेबुल टेनिस कर्भड हल’ पनि अहिले निर्माणको चरणमा छ । जीर्ण कर्भड हल भत्काएर नयाँ बनाउन थालेपछि टेबुल टेनिसको प्रशिक्षण पनि चल्न सकेको छैन । व्यवस्थित कर्भड हल र खेल मैदान नहुँदा खेलकुद अस्तव्यस्त बनेको समितिका अध्यक्ष धनबहादुर परियारले बताए ।
मार्शल आर्टतर्फ तेक्वान्दो, कराँते र उसुको भने नियमित प्रशिक्षण चलिरहेको उनको भनाइ छ । जिल्लामा सबैभन्दा बढी मार्शल आर्टकै खेलाडी उत्पादन हुँदै आएका छन् । अन्य खेलमा भने नयाँ खेलाडी उत्पादन ठप्प छ । कुनै खेलका प्रशिक्षक छन् तर खेलाडी छैनन् । कुनैमा खेलाडी भएपनि प्रशिक्षक छैनन् । सबैभन्दा सम्भावना भएको भलिबल, क्रिकेट, सुटिङ, एथलेटिक्स लगायतका खेलमा प्रशिक्षकै छैनन् जब कि जिल्लामा खेल्दै नखेलिने जिम्न्यास्टिक, ह्याण्डबल र भारत्तोलनका प्रशिक्षक छन् ।

खेल मैदान नहुँदा ह्याण्डबल खेलाउन नसकिएको सहायक प्रशिक्षक भीमसेन शाक्यले बताए। ‘ह्याण्डबलको लागि निश्चित मापदण्डको मैदान चाहिन्छ,’ उनले भने, ‘मैदान व्यवस्थापनका लागि प्रयास भइरहेको छ ।’ बागलुङ नगरपालिका–१ को बाङ्गेचौर फुटबल मैदान व्यस्त हुने हुँदा ह्याण्डबल खेलाउन सम्भव नभएको उनको भनाइ छ ।

सहायक प्रशिक्षक शाक्यले समितिमा कार्यालय सचिवको समेत जिम्मेवारी सम्हाल्नुभएकाले ह्याण्डबललाई पर्याप्त समय दिन सक्नुभएको छैन । जिम्न्यास्टिक खेलको प्रशिक्षण त वर्षौंदेखि बन्द छ । उक्त खेलका लागि चाहिने ‘म्याट’ थोत्रिएपछि प्रशिक्षण चलाउन नसकिएको समितिका अध्यक्ष परियारले बताए । ‘पहिले राखेपले दिएको म्याट जीर्ण भएर खेल्न नमिल्ने भएको छ,’ उनले भने । भारत्तोलनका सामग्री पनि जीर्ण भएर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

‘सामग्री थपथाप गरेर भारत्तोलन शुरु गर्ने तयारी छ, प्रशिक्षक पनि लाग्नुभएको छ,’ उनले भने । खेल सामग्री मात्र नभएर खेल खेलाउने ठाउँको समेत उत्तिकै अभाव रहेको उनको भनाइ छ । भाडा तिरेर प्रशिक्षण चलाउन सक्ने अवस्था नरहेको समितिले जनाएको छ । खेलकूदमा आउने न्यून बजेटले पूर्वाधार विकासका काम यथोचित रुपमा अघि बढ्न सकेका छैनन् । बहुउद्देश्यीय कर्भड हल बनेमा मात्र खेल प्रशिक्षण नियमित चलाउन सकिने प्रशिक्षकहरु बताउँछन् ।
जिल्लामा भारत्तोलनको प्रशिक्षकमा विकासकुमार शाक्य, ह्याण्डबलमा भीमसेन शाक्य, टेबुल टेनिसमा सुख शाक्य, उसुमा दिलबहादुर किसान, तेक्वान्दोमा परशुनारायण बोहोरा, जिम्न्यास्टिकमा राजेश बाँस्कोटा र कराँतेमा धनदास महर्जन रहेका छन् । शाक्य प्रशिक्षक र बाँकी सहायक प्रशिक्षकको रुपमा कार्यरत छन् । पूर्वाधारसँगै समितिमा कर्मचारीको समेत अभाव छ । समितिमा रहेको नायब सुब्बा र सहायक लेखापालको दरबन्दी अहिले रिक्त छ ।