गण्डकी प्रदेश

ब्रेन ट्युमर पीडित कार्कीको उपचारमा १० लाख सहयोग जुट्यो

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीका ब्रेन ट्युमर पीडित यामबहादुर कार्कीको उपचारार्थ विभिन्न देशमा रहेका राखुवासीले रु १० लाख सहयोग जुटाएका छन् ।

उनको उपचारको लागि राखु समाज जापानले रु ६७ हजार १५५ सहयोग गरेको छ । समाजका अध्यक्ष तारा कार्कीको संयोजकत्वमा संकलन गरिएको उक्त सहयोग रकम पीडित कार्कीको परिवारलाई उपलब्ध गराइएको छ । अभियानअन्तर्गत विभिन्न मुलुकमा रहेका राखुवासीको पहलमा आर्थिक संकलन गरी उक्त सहयोग प्राप्त भएको समन्वयकर्ता निरोज कार्कीले बताए।

उनका अनुसार, कार्कीको उपचारको लागि पोर्तुगलबाट रु दुई लाख ५८ हजार ५०३, दक्षिण कोरियाबाट रु एक लाख ८० हजार, कुँवेतबाट रु एक लाख ४० हजार ५०३, बेल्जियमबाट रु एक लाख, कतारबाट रु ७८ हजार ३६, युकेबाट रु ७६ हजार ३०७, जापानबाट रु ६७ हजार १५५ युएइबाट रु ४७ हजार ३६६ सहयोग जुटाइएको छ ।

उनको उपचारको लागि स्वदेश तथा अन्य विभिन्न ठाउँबाट समेत व्यक्तिगत रुपमा सहयोग जुटेको समन्वयकर्ता कार्कीले बताए । कार्की अहिले शल्यक्रियापश्चात् सामान्य अवस्थामा आइसकेका छन् ।

कार्कीको उपचारमा लाखौँ खर्च लाग्ने र घरपरिवारको आर्थिक व्ययभार कम गर्नका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटेको भन्दै सहयोग दातालाई कार्कीको घरपरिवारले आभार व्यक्त गरेका छन् ।