सुदूरपश्चिम

पाँच बिगाहको गाँजा नष्ट

भीमदत्तनगर । लागूऔषध दुरुपयोग एवं ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसअन्तर्गत कञ्चनपुर प्रहरीले सप्ताहव्यापी गाँजा नष्ट अभियान जिल्लाभर सञ्चालन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जिल्ला मातहत रहेका विभिन्न इलाका प्रहरी र प्रहरी चौकीले गाँजा नष्ट अभियान सञ्चालन गरेको बताए ।

सोअन्तर्गत बिहीबार इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले शुक्लाफाँटा नगरपालिका–१० झलारीबजार र वडा नं ७ फुलेली क्षेत्रको सार्वजनिक क्षेत्रका साथै विद्यालय क्षेत्रमा रहेको गाँजाका बोट नष्ट गरेको छ ।
त्यसैगरी बिहीबार नै इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र इलाका प्रशासन कार्यालयका कर्मचारीले समेत सार्वजनिक जग्गामा उम्रिएका गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय मझगाउँले पनि विगत केही सातायता निरन्तररुपमा भीमदत्तनगरपालिकाको विभिन्न क्षेत्रमा गाँजा नष्ट अभियानलाई तीव्रता दिइरहेको छ । हालसम्म प्रहरीले जिल्लाभरमा करीब पाँच बिगाहभन्दा बढी क्षेत्रफलको गाँजा नष्ट गरिसकेको छ ।