राजनीति

पार्टी नेतृत्वलाई एक हुन जिल्ला सभापतिको आह्वान : प्रवक्ता शर्मा

हेटौंडा । नेपाली काँग्रेसका जिल्ला सभापतिहरूले नेतृत्वलाई मन, वचन र कर्मले एक हुन आह्वान गरेका छन् ।

यहाँ आज साँझ आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जिल्ला सभापतिको राष्ट्रिय भेलामा साँझसम्ममा बोल्ने ७७ मध्ये ७४ सभापतिले पार्टीको नेतृत्वमा सधैँ पार्टी एक ढिक्का बनाउन आत्मादेखि प्रतिबद्धता हुनुपर्नेमा जोड दिएको बताए ।

उनले भेलाले संघीय प्रणालीअनुरुप प्रदेश, स्थानीय तह, वडामा पार्टी समिति स्थापना गर्न र विधिवत् अधिवेशन गराई निर्वाचन गराउन महासमिति र केन्द्रीय समितिको बैठकले निर्णय गरी विधान पारित गराउन सुझाव दिएको जानकारी दिए ।

सभापतिका सुझावलाई अभिलेखमा उतारी विधानको मस्यौदा तर्जुमा गर्न कार्यदल बनाइने भएको छ । प्रवक्ता शर्माले केही जिल्ला सभापतिले धर्मनिरपेक्षतालाई पुनः आत्मसमीक्षा गर्न सुझाव दिएको जानकारी पनि दिए ।