गण्डकी प्रदेश

प्रदेश विनियोजन विधेयक बहुमतले पारित

पोखरा । प्रदेश नं ४ प्रदेशसभाको आजको बैठकमा प्रदेश विनियोजन विधेयक, २०७५ पारित भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विधेयक पारित गरियोस् भन्दै प्रदेशसभामा प्रस्तुत गरेका प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।

यसअघि विधेयकमाथिको छलफलमा भाग लिदैं प्रदेशसभा सदस्यहरूले विनियोजित रकम पारदर्शी हुनुपर्ने बताउँदै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । प्रदेशसभा सदस्य धनञ्जय दवाडीले बजेट आत्मनिर्भरतातर्फ उन्मुख बन्नुपर्नेमा जोड दिए ।

अर्का सदस्य कुमार खड्काले बजेटको विनियोजन शीर्षकगत रुपमा हुनुपर्ने भए पनि त्यो हुन नसकेकोमा गुणासो व्यक्त गरे।

सदस्य हरिशरण आचार्यले शीर्षकगत रुपमा नभई मन्त्रालयको बजेट पोको पारिएको बताउँदै बजेट समान रुपमा वितरण हुनुपर्ने माग गरे । यसैगरी सदस्यहरु मणिभद्र शर्मा, पियारी थापा, चन्द्रबहादुर बुढा, कृष्ण थापा, रोशनबहादुर गाहा थापा, मधुमाया अधिकारी, धनमाया लामा पोखरेल, लक्ष्मी सुनार, सरिता गुरुङ, राजिव पहारी, चन्द्रमोहन गौचन र मनकुमारी गुरुङले बजेटलाई पारदर्शी बनाउनुपर्ने उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

छलफलमा उठेका विषयमा सामाजिक विकास मन्त्री नरदेवी पुन, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा र आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले बजेटको कार्यान्वयनमा सत्तापक्ष र प्रतिपक्ष नभनी अघि बढ्ने विश्वास व्यक्त गरे।