कृषि

नार्कले सिफारिस गर्दैछ यस्तो धानको बीउ

ललितपुर । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सुक्खा सहन सक्ने गुण भएको धानको बीउ किसानका लागि सिफारिश गर्ने भएको छ ।

जलवायु परिवर्तनको असर धान बालीमा प्रत्यक्ष देखिन थालेपछि नार्कले प्रतिकूल मौसममा समेत उत्पादन दिनसक्ने बीउ अध्ययन गरेर बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रमा पठाउने तयारी गरेको बाली विज्ञान महाशाखाले जनाएको छ ।

एउटा धानको बीउ नार्कले सिफारिश गरेर किसानसम्म पुग्न झण्डै छ/सात वर्षसम्म लाग्छ । पहिले नार्कले आफ्नै खेतमा धान रोपेर त्यसको सुक्खापन प्रतिरोधी क्षमता, रोग प्रतिरोधी क्षमता, उत्पादनलगायतको अध्ययन गरिने प्राविधिक अतित पराजुलीले बताए ।

उन भन्छन्, “अहिले हामीले किसानलाई सिफारिश गरिरहेका बीउभन्दा राम्रो नतिजा दिँदा हामी यहाँबाट नयाँ बीउ सिफारिश गर्छौं ।” अहिले सिफारिशका क्रममा रहेको बीउ मसिनो धानका बीउ हुन । यि जातमा सुक्खा सहने गुणसँगै नार्कले सिफारिश गरिरहेको खुमल–४, खुमल–८ र खुमल–१० भन्दाबढी उत्पादन दिन्छन् ।

खुमल–८ र खुमल–१० यहाँबाट झण्डै तीन वर्ष पहिले सिफारिश भएको हो । यि जातमा भन्दा राम्रो गुण देखिएकाले नयाँ बीउ सिफारिश हुन लागेको पराजुली बताउछन्। “अहिले सिफारिश गरेको बीउभन्दा राम्रो गुण हुँदा मात्रै नयाँ बीउ सिफारिश गर्छौं,” उनले भने र

जलवायु परिवर्तनको प्रत्यक्ष असर धानबालीमा परेको छ । समयमा पानी नपर्दा किसानले रोपाइँ गर्न पाउँदैनन् । त्यसैले अगौटे बीउ किसानले चाहेका छन् । समयमा रोपाइँ नहुँदा धानको बाला लाग्दासम्म जाडो मौसम आइसक्छ । फूल फुल्ने र बाला लाग्न बढी तापक्रम चाहिन्छ तर ढिला रोप्दा जाडो आइसक्छ । नयाँ सिफारिश हुन लागेका जातमा सुक्खा सहन सक्ने गुण भएकाले पानी नपर्दासमेत असर नगर्ने पराजुलीको भनाइ छ ।

सुक्खा सहनसक्ने धानको बीउले प्रतिकूल मौसममा समेत समयमा नै फूल फुल्ने र बाला लाग्छ । वर्षाको समयमा कम पानी पर्दासमेत उत्पादन नघट्ने पराजुलीको भनाइ छ । अहिलेको मागअनुसार अगौटे धानका बीउको अध्ययन र अनुसन्धानमा बढी जोड दिएको पराजुलीले बताए ।

मौसम बालीका लागि प्रतिकूल हुँदा कीरा र ढुसीका लागि अनुकूल हुन सक्छ । धानमा लाग्ने विभिन्न रोग अवरोधक बीउको अध्ययन गरे अहिलेसम्म अवरोधक जातको विकास हुन सकेको छैन । नयाँ सिफारिश गरेका जातमा रोगसँग लड्ने क्षमता बढी छ । नार्कले सिफारिश गरेको बीउ गुणस्तर नियन्त्रण केन्द्रमा पठाउँछ । कुन क्षेत्रका लागि र कुन अवस्थामा कस्तो उत्पादन दिने प्रष्ट पारेर प्रस्ताव केन्द्रमा पठाउने गरिएको पराजुली बताउछन् । केन्द्रको प्राविधिक समितिको बैठकबाट स्वीकृत गरेपछि मात्रै राजपत्रमा प्रकाशित हुन्छ । उनी भन्छन्, “त्यसपछि मात्रै हामी बीउ वितरण थाल्छौँ ।”

नार्कको आफ्नो प्रयोगका लागि रोप्दा र किसानको खेतमा रोप्दा उत्पादन फरक हुन सक्ने भएकाले यहाँ अनुसन्धानका क्रममा सफल देखिएका बीउ किसानका खेतमा समेत परीक्षणका लागि लगाउने गरिएको छ । यहाँका खेतमा जसरी किसानको खेतमा पर्याप्त मलखाद, सिँचाइ र गोडमेल नपुग्न सक्छ । “हामीले दुई÷चार ठाउँका किसानका खेतमा लगाएर हेरेपछि मात्रै त्यो बीउ सही हुने निष्कर्षमा पुग्छौँ,” उनले भने ।

नार्कले न्यूनतम मापदण्डका रुपमा कतिपय जातका धानलाई मानेको छ । कम्तीमा ती जातले बराबर वा त्योभन्दा बढी उत्पादन दिँदामात्रै नयाँ धानका जात सिफारिश हुन्छन् । खुमल–४, खुमल–१०, खुमल–११ र खुमल–१३ लाई न्यूनतम मापदण्ड मानेर त्योभन्दा बढी उत्पादन दिने धानको बीउ यहाँबाट सिफारिश हुन्छ ।

अहिलेसम्म मसिनो र मोटो धानको उन्नत जातका बीउ सिफारिश हुँदै आएको छ । आगामी दिनमा मागका आधारमा बासनादार धान, हाइब्रिडसमेत सिफारिशका लागि अध्ययन÷अनुसन्धान भइरहेको छ । नार्कले पहाडका लागि बाली विज्ञान महाशाखा र तराईका लागि जनकपुरस्थित धान विकास कार्यक्रम, हर्दिनाथमार्फत बीउ सिफारिश गर्दै आएको छ ।